Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एक महीने मेला सम्पन्न

काठमाडौँ, मङ्सिर ७ ।

काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा एक महिनासम्म चलेको आदिनाथको मेलामा करीब दुई लाखले अवलोकन गरी सम्पन्न भएको छ । आश्विन शुक्ल पूर्णिमादेखि एक महीनासम्म सञ्चालन भएको उक्त मेला भर्न काठमाडौँ तथा त्यस आसपास क्षेत्रबाट हिन्दू र बौद्ध अनुयायीको सहभागिता थियो ।

हिन्दू तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको मन्दिरमा रहेका मूर्तिलाई हिन्दू धर्मावलम्बीले शिवशक्ति र बौद्ध अनुयायीले लोकेश्वरका रुपमा पूजा गर्ने हुँदा त्यहाँका जात्रा, पर्वलगायत धार्मिक अनुष्ठानमा दुबै धर्मावलम्बीको साझा पर्वका रुपमा लिने गरिएको छ । मेला अवधिमा मन्दिरमा विभिन्न जात्रा, पर्वका साथै विशेष पूजा गरिएका थिए ।

दुबै धर्मका अनुयायीले एकापसमा अन्योन्याश्रित सम्बन्ध कायम गरी विकास गरेको उक्त तीर्थस्थलमा शिव पार्वतीको संयुक्त आकार प्रतिबिम्बित भएको मूर्ति राखिएका छन्, जसलाई हिन्दूले आदिनाथ र बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वर भन्ने गरेका छन् ।

विभिन्न धर्मावलम्बीको फरकफरक विश्वास र आध्यात्मिक दर्शन भए पनि परापूर्वकालदेखि नै यी दुबै धर्मावलम्बीका बीच रहेको सहयोग र सद्भावले अन्य अनुयायीलाई पनि धार्मिक सहिष्णुताको शिक्षा र सकारात्मक सन्देश प्रवाह भएको पूजारी सरोज शाक्यले बताए । यो एक महिनाको अवधिमा त्यहाँ मेला भरेमा ग्रहदशा, भय, रोग, बिघ्नबाट मुक्त भई पारिवारिक सुख, शान्ति र समृद्धि कायम हुने जनविश्वास छ । भगवान लोकेश्वरको ध्यान गरेमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धन सम्पत्तिले परिपूर्ण हुने स्थानीय बुढापाकाको भनाइ छ ।

लिच्छवीकालीन समयमा निर्माण गरिएको काठमाडौँबाट करीब नौ किमी दक्षिणतर्फ अवस्थित मन्दिर पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । एक महीनासम्म चलेको मेलामा काठमाडौँ, ललितपुरका विभिन्न स्थानबाट प्रत्येक दिन विभिन्न बाजागाजा सहित मन्दिरमा आएर भजनकीर्तन गरिएको थियो ।

हरिबोधनी एकादशीदेखि पाँच दिनसम्म भक्तजनले निराहार व्रत बसेर शुक्रबार बिहान पूजा सम्पन्न गरेका थिए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: