कराची, मङ्सिर ७ । पाकिस्तानको कराचीस्थित चीनको महावाणिज्य दूतावासमा भर्खरै भएको बन्दुक आक्रमणमा दुई प्रहरीको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । कराची सहरको क्लिफटन इलाकामा रहेको चिनियाँ वाणिज्य दूतावासमा भएको उक्त आक्रमणमा तीन जना आक्रमणकारी समेत मारिएको बताइएको छ
प्रहरीले चिनियाँ कुटनीतिज्ञहरू सुरक्षित रहेको जनाएको छ । स्थानीयहरूका अनुसार शुक्रवार बिहान चीनको वाणिज्य दूतावासबाहिर आक्रमणकारीहरूले पहिले विष्फोट गराएको र त्यसपछि गोली चलाउन सुरु गरेका थिए ।
त्यहाँ उपस्ठित सुरक्षा फौजले तत्काल जवाफी कारवाही सुरु गरेको बताइएको छ । सामजिक संजालमा यस आक्रमणसंग सम्बन्धित तस्बिर र भिडियोहरू साझा भएका छन् । तस्बिरहरूमा घरहरूबाट धुवाँ आइरहेको देख्न सकिन्छ ।
बन्दुकधारीहरूले दूतावासभित्र पस्न खोजेको बताइएको छ । हाल घटनास्थलमा नाकाबन्दी गरिएको छ भने सिंह प्रान्तका प्रहरी महानिरीक्षकले यसबारे मातहतका निकायसँग स्पष्टीकरण माग गरेको बताइएको छ ।
पाकिस्तानको सरकारले भने हालसम्म यससम्बन्धमा कुनै अधिकारिक बयान जारी गरेको छैन ।
यस आक्रमणको जिम्मेवारी त्यहाँको पृथकतावादी संगठन ‘बलोचिस्तान लिबरेसन आर्मी- बीएलए’ले लिएको छ । यो संगठनले सन् २००४ देखि पाकिस्तान विरुद्ध संघर्ष गरिराखेको छ र यसलाई पाकिस्तानले आतंकवादी संगठनको रूपमा राखेको छ ।
बीएलएले एक विज्ञप्ति जारी गर्दै यस आक्रमणमा आफ्ना तीन कार्यकर्ता संलग्न रहेको र यो आक्रमण चीनलाई ‘पाठ’ सिकाउन गरेको बताएको छ ।
पाकिस्तानले बीएलएलाई भारतले सहयोग गरिराखेको आरोप लगाउने गरेको छ ।