Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालबाट वर्षेनी १३ अर्ब लगेर जान्छ फेसबुक

फेसबुक, युट्युब, गुगल, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अर्बौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । विज्ञापन तथा व्यवसाय प्रबर्द्धनका नाममा सामाजिक सञ्जालले ठूलो परिमाणमा नाफा कमाइरहे पनि नियमन नहुँदा राज्यले करोडौँ रुपैयाँ राजस्व गुमाइरहेको छ ।

सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुक इन्कले आफ्ना उत्पादन फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासेफिक क्षेत्रबाट प्रतिप्रयोगकर्ता ८ दशमलव ९२ डलर आम्दानी गरेको थियो । यस वर्ष ९ दशमलव ९१ डलर आम्दानी गर्ने अनुमान छ । एसिया प्रशान्त क्षेत्रको औसत मान्दा एक करोड १० लाख नेपाली प्रयोगकर्ताबाट फेसबुकले यस वर्ष १२ अर्ब ७५ करोड रुपैयाँ लग्नेछ ।

यसरी नेपालबाट प्रतिप्रयोगकर्ता ११ सय ५९ रुपैयाँ जानेछ । गत वर्ष विश्वभरबाट फेसबुकले प्रतिप्रयोगकर्ता २० दशमलव २१ डलर आम्दानी गरेको थियो । २०१८ मा फेसबुकको आम्दानी विश्वभरबाट औसतमा प्रतिव्यक्ति २३ दशमलव ४५ डलर पुग्ने प्रक्षेपण छ । यो हिसाबले यस वर्ष फेसबुकले ६० खर्ब ७० अर्ब नेपाली रुपैयाँबराबरको धनराशि जम्मा गर्नेछ । यो रकम नेपालको कुल बजेटको चार गुणा बढी हो । नेपालको वार्षिक बजेट अहिले करिब १५ खर्ब छ । फेसबुकजस्तै गुगल, युट्युब, ट्विटरले नेपालबाट करोडौँ आम्दानी गरिरहेका छन् ।

सामाजिक सञ्जालमा विज्ञापन गर्न भुक्तानीका लागि नेपालबाट वैधानिक विकल्प नै छैन । फेसबुक, गुगलजस्ता सामाजिक सञ्जालमा खर्च हुने पैसा विदेशबाटै डलरमा भुक्तान हुने गरेको गुगल बिजनेस ग्रुपको नेपाल च्याप्टरका म्यानेजर अमित अग्रवाल बताउँछन् ।

‘भारतको खाताबाट विज्ञापन गर्दा जिएसटी लाग्छ । सिंगापुरबाट गर्दा पनि महँगो पर्छ । त्यसैले युरोप र अमेरिकाबाट नेपालको भुक्तानी भइरहेको अनुमान गर्न सकिन्छ,’ उनी भन्छन्, ‘देशबाहिर रहेका साथीभाइको क्रेडिट कार्ड वा पेपाल खाताबाट नै फेसबुक एड, गुगल एडवर्डलाई भुक्तानी गर्ने गरिएको छ । नेपालभित्र आउने रकम उतैबाट सामाजिक सञ्जालमा गइरहेको छ ।’ नेपालबाटै वैधानिक रूपमा सामाजिक सञ्जालको भुक्तानी गर्न सके १५ प्रतिशत राजस्व सरकारलाई प्राप्त हुने अग्रवालको भनाइ छ । वैधानिक माध्यम नै नभएकाले बाहिरिने रकमको अनुमान गर्न कठिन हुने डिजिटल मार्केटिङ कम्पनी एसिटी ३६० का सिइओ आमोद निरौला बताउँछन् ।

सामाजिक सञ्जाललगायतको समग्र सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई नियमन गर्ने गरी छाता ऐन जारी गर्ने सरकारको तयारी छ । सञ्चार मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्रले ऐनको मस्यौदा राय–सुझाबका लागि कानुन मन्त्रालयमा पठाइएको जानकारी दिए । ‘कानूनबाट आउने वित्तिकै मन्त्रीपरिषदमा जान्छ,’ उनले भने, ‘त्यहाँबाट स्वीकृत भएसँगै संसदमा दर्ता हुनेछ ।’

फेसबुकको वार्षिक कति आम्दानी गर्छ ?

फेसबुकले सन् २०१८ को तेश्रो त्रैमासिकमा मात्रै विज्ञापनबाट १३ अर्ब ५३ करोड ९० लाख तथा अन्य भुक्तानीबाट १८ करोड ८० लाख गरी कूल १३ अर्ब ७२ करोड ७० लाख अमेरिकी डलर आम्दानी गरेको थियो । यससँगै फेसबुकको नौ महिनाको कूल आम्दानी ३८ अर्ब ९२ करोड ४० लाख अर्थात मंगलबारको विनिमय दरअनुसार ४४ खर्ब ५० अर्ब १८ करोड ९ लाख २० हजार रुपैयाँ छ । सन् २०१७ मा भने उसको कूल आम्दानी ४० अर्ब ६५ करोड ३० लाख अमेरिकी डलर रहेको थियो ।

फेसबुकको आम्दानी भने अमेरिका र क्यानडा बाट नै बढी हुने गरेको छ । सन् २०१८ का सुरुका नौ महिनामा अमेरिका तथा क्यानडाबाट मात्रै १८ अर्ब ५८ करोड ५० लाख अमेरिकी डलर कमाई गरेको छ । त्यसपछि भने क्रमशः युरोपबाट ९ अर्ब ६५ करोड १० लाख डलर, एशियया प्यासेफिक क्षेत्रबाट ६ अर्ब ८२ करोड ९० लाख डलर र बाँकी क्षेत्रबाट ३ अर्ब ८५ करोड ९० लाख अमेरिकी डलर रहेको छ । यद्यपी फेसबुकको यो आम्दानी बिल भुक्तानी गरिएको क्षेत्रका आधारमा तयार पारिएको हो । अर्थात युरोप तथा अमेरिकाबाट हुने एशिया प्यासेफिक क्षेत्रको भुक्तानीलाई यस क्षेत्रबाट भएको आम्दानीमा गणना गरिएको हुँदैन ।

कति छन् युट्युब प्रयोगकर्ता ?
सन् २००५ मा सुरु भएको युट्युबमा हरेक ६० सेकेन्डमा ३ सय घण्टा भन्दा बढी उच्च गुणस्तरको भिडियो अपलोड हुन्छन् । हाल युट्युबमा १ अर्ब ३० करोडभन्दा बढी भिडियो रहेका छन् । विश्वभर युट्युबका नियमित प्रयोगकर्ताको संख्या १ अर्बभन्दा बढी अर्थात कूल इन्टरनेट प्रयोगकर्ता मध्ये एक तिहाई रहेका छन् । युट्युब खासगरी १८ देखि ३४ वर्ष उमेरसमूहका युवाहरुमाझ लोकपृय छ । अमेरिकामा मोबाइलमा मात्रै युट्युब चलाउने प्रयोगकर्ताको संख्या त्यहाँका कुनै पनि टेलिभिजन नेटवर्कका दर्शकको भन्दा बढी छ । विश्वभरका ९१ देशमा लोकल भर्सन उपलब्ध युट्युबमा नेपाली सहित ८० भाषामा प्रयोग गर्न सकिन्छ । युट्युबमा प्रयोग गरिएका भाषाले विश्वको ९५ प्रतिशत इन्टरनेट जनसंख्यालाई समेटेको छ । युट्युबमा दैनिक एक अर्बभन्दा बढी घण्टाको भिडियो हेरिने गरेको छ । यद्यपी ७० प्रतिशत बढीले मोबाइल डिभाइसबाटै युट्युब हेर्छन् ।

युट्युब च्यानलहरु कति कमाउँछन् ?

म्युजिक नेपालका उत्तम थापा नेपालबाट कन्टेन्ट आइडी प्राप्त युट्युब च्यानल तीनओटासम्म रहेको जानकारी आफूलाई रहेको बताउँछन् । उनका अनुसार म्युजिक नेपाल, हाइलाइट्स नेपाल र बुढासुब्बा लगायतका केही सीमित कम्पनीको मात्रै कन्टेन्ट आइडि रहेको छ । ‘नेपालकै बैंकमा रहेको डलर खातामा युट्युबले रकम राखिदिने गरेको छ,’ उनीभन्छन्, ‘बैंकबाट हामीले नेपाली मुद्रमा भुक्तानी पाउने हो ।’ तर, थापाले वार्षिक आम्दनीको पाटो भने खुलाउन चाहेनन् । यस्ता आइडिले वार्षिक करोडौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । युट्युबमा म्युजिक नेपालका २८ लाख ४० हजार भन्दा बढी ग्राहक छन् भने बुढासुब्बा डिजिटल करीब २१ लाख, हाइलाइट्स नेपाल २४ लाख प्रयोगकर्ताले सब्स्क्राइब गरेका छन् ।

प्रत्येक वर्ष एक लाख डलरभन्दा बढी आम्दानी गर्ने युट्युब च्यानलको संख्या ४० प्रतिशतले बढिरहेका छन् । वार्षिक १० हजार अमेरिकी डलर आम्दानी गर्नेको संख्या भने प्रतिवर्ष ५० प्रतिशतले बृद्धि भइरहेको युट्युबले जनाएको छ । १० लाख सब्स्क्राइबररहेका युट्युब च्यानलको संख्या हरेक वर्ष ७५ प्रतिशतले बढिरहेको छ । यद्यपी त्यस्ता च्यानलको संख्या कति छ भन्ने विषय युट्युबले खुलाएको छैन । युट्युबका कन्टेन्ट आइडि प्राप्त साझेदारहरुको संख्या मात्रै ९ हजारभन्दा बढी रहेको छ । प्रतिलिपि अधिकारको रुपमा क्षतिपुर्ति समेत लिन सक्ने यस्ता च्यानलहरुमा मूख्य प्रशारण नेटवर्क, फिल्म स्टुडियो, रेकर्डिङ ल्याबहरु रहेका छन् । युट्युबले ‘कन्टेन्ट आइडी’ को नियम लागु गरेपछि ८० करोड भिडियोमा प्रतिलिपी अधिकार प्रयोग भइसकेको छ । पछिल्लो ५ वर्षमा युट्युबले करीब अढाई खर्ब रुपैयाँ कन्टेन्ट आइडी प्राप्त साझेदारहरुको दाबी भुक्तानी गरिसकेको छ ।

१५ हजारभन्दा बढी भिडियो अपलोड गरिसकेको युट्युबमा पछिल्लो दुई वर्षको अवधिमा साना तथा मध्यम लगानीका व्यवसायहरुले गर्ने विज्ञापन दोब्बर भएको छ । नेपाली उत्पादन तथा सेवाका विज्ञापन समेत युट्युबमा राखिएका छन् । स्थानीय रुपमा युट्युबमा विज्ञापन गर्न कम्तिमा दैनिक १० अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ । विश्वभरबाट युट्युब सहित गुगलका सबै कम्पनीको गरी सन् २०१८ का नौ महिनाको आम्दानी ९७ अर्ब ५४ करोड ३० लाख अमेरिकी डलर आम्दानी गरेको गुगलले उक्त अवधिमा २१ अर्ब ७८ करोड ८० लाख डलर खुद नाफा आर्जन गरेको छ । तर, गुगलले क्षेत्रगत रुपमा आम्दानी तथा खर्चको विवरण भने खुलाएको छैन । गुगलका म्याप, एन्ड्रोइड, इन्स्टाग्रम, ब्लग र जिमेल लोकप्रिय छन् ।

सामाजिक सञ्जालको सजिलो व्यवसाय, तर जोखिम पनि उस्तै

ई–कमर्स कम्पनी तथा वेबसाईटहरुले मात्रै होइन सामाजिक सञ्जालमा छूट्टै गु्रप बनाएर अनलाइनमार्फत खरीद बिक्री कार्य हुँदै आएको छ । फेसबुकमा मात्रै त्यस्ता ग्रुपहरु हजारौँको संख्यामा बनाइएका छन् । त्यस्ता ग्रुपलाई केहीले ईकमर्स जस्तै व्यवसायको रुपमा प्रयोग गरेका छन् भने केहीले सेकेन्ड ह्याण्ड सामान खरीद बिक्रीको माध्यम बनाएका छन् । फेसबुकमा ‘बेस्ट बाई एण्ड सेल’ नामक अर्को ग्रुप छ । जसमा ४ लाख ६० हजार भन्दा बढी सदस्य छन् । भक्तपुरका जेम्स ताम्राकार तीन जान साथीसहित दुई वर्षदेखि त्यससँगै अन्य १५/२० ग्रुपमा जोडिएर अनलाइनमै व्यापार गर्छन् । ‘सप्लायरबाट सामान लिएर विभिन्न फेसबुक ग्रुपमा निशुल्क विज्ञापन गर्छौं,’ उनले भने, ‘अर्डर लिएर साथीहरु मिलेरै घरसम्मै पु¥याइदिने गरेका छौँ । पछिल्लो समय प्रतिस्प्रर्धा निकै बढेको छ । सामान मगाउनेले बिचैमा अर्डर क्यान्सिल गरिदिँदा भने निकै दूःख महशुस हुन्छ ।’ यसरी गरेको व्यवसायबाट प्राप्त आम्दानीमा आफूहरु सन्तुष्ट रहेको जेम्सको भनाई छ ।

‘बाई एण्ड सेल इन नेपाल’ नामक ग्रुपमा ६९ हजार ९१९ सदस्य जोडिएका छन् । ग्रुपका एडमिन प्रवेश खतिवडा आफूहरुले निःशुल्क रुपमा खरीद बिक्रीको माध्यमको रुपमा काम गर्दै आएको दाबी गर्छन् । ‘हाम्रो गु्रुपमा फेसबुक प्रयोगकर्ताले विज्ञापन गर्ने र खरीदकर्तालाई सम्पर्कमा ल्याइदिने मात्रै हो । विज्ञापन गरेवापत कुनै शूःल्क पनि लिँदैनौँ ।,’ उनले भने, ‘दुवै पक्षले आपसमा कुराकानी गरेर टुंग्याउने हो । त्यो पनि हामीलाई थाहा हुँदैन ।’ खतिवडा स्वयम् यस्ता फेसबुक ग्रुपबाट ठगिमा परेका छन् । एउटा फेसबुक ग्रुपमा नेपालमै आइफोन ४० प्रतिशत सस्तोमा पाइने भनेर विज्ञापन गरेको देखेका थिए । सम्पर्क गर्दा सुरुमा आधा भुक्तानी गर्नुपर्छ भनेको थियो । उनले सुनाए, ‘मैले ३० हजार रुपैयाँ एनआइसी एशिया बैंकमा जम्मा गरिदिएको थिएँ । पछि गएर फेसबुक सबैतिर ब्लक ग¥यो । बैंकबाट जानकारी लिन खोज्दा व्यक्तिगत विवरण दिन मिल्दैन भनियो ।’ उनले भने, ‘यसरी अरु नठगिऊन भनेर नै हामीले यस्तो ग्रुप खोलेका हौँ । पछि गएर यो ग्रुपको सञ्जाललाई वेबसाइटमा जोडेर व्यवसायीक रुपमा ई–कमर्सको काम गर्ने सोचमा छौँ ।’

वैध च्यानल नहुनुमा नै समस्या
प्रवीनराज पोखरेल
भुक्तानी प्रणाली सल्लाहकार
सक्षम वित्तीय पहुँच कार्यक्रम यकीन आँकडा नभए पनि सामाजिक सञ्जालमा हुने विज्ञापनका लागि ठूलो मात्रामा रकम विदेशिने गरेको छ । अहिलेको व्यवस्थाअनुसार नेपालबाट सोझै त्यस्तो भुक्तानी सम्भव छैन । यस्तो भुक्तानीका लागि वैधानिक व्यवस्थाको अभावमा अवैध माध्यम (ग्रे च्यानल) प्रयोग भएको हो । राष्ट्र बैंकले विज्ञापन दातालाई बोलाएर विदेशी मुद्रा अपचलनको आरोपमा छानविन गर्न पनि सक्छ । तर, त्यसो गर्नु वुद्धिमत्तापुर्ण हुँदैन । एजेन्टलाई बढी पैसा तिरेर विज्ञापन भइरहेको छ । त्यसलाई नियमनको दायरामा ल्याउन सकेको खण्डमा यो क्षेत्रलाई व्यवस्थित गर्न सकिन्छ ।

नियमनको व्यवस्था हुँदैछ
विरेन्द्र मिश्र
सहसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
नेपालमा चल्ने सामाजिक सञ्जाल अनिवार्य रुपमा दर्ता गर्नुपर्ने व्यवस्था सहितको सूचना तथा सञ्चार प्रविधि ऐन निर्माणको प्रक्रियामा छ । ऐनको मस्यौदा कानून मन्त्रालयमा पठाएका छौँ । ऐनमा प्रस्तावित व्यवस्था कायम भएको खण्डमा यहाँ दर्ता नभई कुनै पनि सामाजिक सञ्जाल यहाँ चल्न पाउने छैनन् । सरकारको नियम विपरित चल्ने सामाजिक सञ्जाललाई प्रतिबन्ध समेत लगाउन सकिनेछ । दर्ताको प्रक्रियामा आउँदा सामाजिक सञ्जाल स्वतः राजश्वको दायरामा पनि आउँछ ।

नियमन व्यवस्था नभएको होइन
नारायण पौडेल
प्रवक्ता, नेपाल राष्ट्र बैंक
डलर अकाउण्ट भएकाहरुले वार्षिक २ हजार डलर नेपालबाटै भुक्तानी गर्न सकिने व्यवस्था छ । देश बाहिरबाट त्यस्तो सीमा वार्षिक १५ हजार डलर छ । यस आधारमा मुलुक बाहिर गरिने भुक्तानी नियमनमा नरहेको भन्न मिल्दैन । तर, यहीँबाट सामाजिक सञ्जाललाई सोझै भुक्तानी गर्ने व्यवस्था भने छैन । कसरी भुक्तानी हुन्छ, त्यो हामीलाई थाहा भएन । करको दायरामा ल्याउने विषय भने अर्थ मन्त्रालयको क्षेत्राधिकारको कुरा हो ।

साभार: नयाँ पत्रिका

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: