Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शिक्षा मन्त्री भन्छन्, ‘शिक्षा सुविधा विहीनको पहुँचमा पुग्नुपर्छ’

काभे्रपलाञ्चोक, मंसिर ७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं काठमाडौं विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले शिक्षा सुविधाविहीन जनताको पहुँचमा पुग्नुपर्ने बताएका छन्।

आज धुलिखेलमा काठमाडौं विश्वविद्यालयको २४औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा गरीब वर्ग, दलित एवं अपाङ्गता भएका व्यक्तिको पहुँचमा पुग्नुपर्नेमा जोड दिएका हुन् । उनले भने, “हाम्रो संविधानको मूल मर्म पनि सुविधाविहीनको पहुँचमा शिक्षा पुर्याउनु नै हो ।”

मन्त्री पोखरेलले शिक्षा व्यवसायीकरण नभई व्यापारीकरणतर्फ उन्मुख हुने प्रवृत्तितर्फ बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै देशमा आवश्यकताको प्रक्षेपणका आधारमा शैक्षिक संस्थाको आवश्यकता औंल्याए । उनले संघीय संसद्मा शिक्षामा भएका विकृति, विसङ्गति निर्मूल पार्ने शिक्षा आयोग गठन गर्न विधेयक पास गर्ने प्रक्रियामा रहेको बताए ।

मन्त्री पोखरेलले सङ्घीय संसद्मा चिकित्सा आयोग पनि गठन गर्न मस्यौदा पेश भइसकेको र छलफलको अवस्थामा रहेको बताए । उनले भने, ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारले मुलुकका विश्वविद्यालयसँग हातेमालो गरी प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपालीको अभियान सफल पार्ने छौँ ।’

सो अवसरमा इसिमोडका महानिर्देशक डा. डेभिड जेम्स् मोल्डेनले विश्वमा वातावरण प्रदूषणले वार्षिक ७० लाख मानिसको मृत्यु हुने गरेको उल्लेख गर्दै विश्वविद्यालयमा उत्पादित शैक्षिक जनशक्तिले यस्ता समस्यालाई ध्यानमा राखी प्रदूषण न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका उपकूलपति डा रामकण्ठ श्रेष्ठले दीक्षित स्नातकलाई आफ्नो काम कर्तव्यमा इमान्दार र चरित्रवान भई मानव समाज तथा राष्ट्र समुत्थानमा समर्पित हुन आग्रह गरे ।

उक्त दीक्षिन्त कार्यक्रममा विभिन्न विधाका एक हजार ५५५ स्नातक विद्यार्थी दीक्षित भएका छन् । कार्यक्रममा स्कूल अफ मेडिकल साइन्सेजअन्तर्गत डिएम÷एमसीएच तहका पाँच, एमडी÷एमएस्÷एमडीएस् तहका १९३, एमबिबीएस् तहका ९६९, बीडीएस् तहका १६६, बीएस्सी नर्सिङ तहका १८२, ब्याचलर आफ फिजियो थेरापी तहका २२ र ब्याचलर अफ नर्सिङ साइन्स तहका १८ जना दीक्षित भएका हुन् ।

समारोहमा एमबिबीएस् तहमा ८१ दशमलव ५७ प्रतिशत अंक ल्याई उत्कृष्ट हुने नेपाल मेडिकल कलेजकी छात्रा मनाली भट्टलाई भाइस्–चान्सलर स्वर्णपदकले सम्मान गरिएको थियो । दीक्षितमध्ये ६४७ महिला तथा ९०८ पुरुष छन् ।

यसमध्ये १३९४ जना नेपाली हुन् भने भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका र बेलायतका १६१ जना रहेका विश्वविद्यालयका स्कूल अफ मेडिकल साइन्सेजका डीन डा. राजेन्द्रप्रसाद कोजूले जानकारी दिए । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: