Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उमाको उमंगः बधाई थाप्न भ्याइनभ्यार्इ

टीकापुर, मंसिर ८ । सुदूरपश्चिम प्रदेशसभा सदस्य उमादेवी बादी (५४) लाई अहिले मोबाइल फोन रिसिभ गर्न भ्याइनभ्यार्इ छ। एउटा मोबाइलमा कुरा नसक्दै अर्को मोबाइलमा घन्टी बजिसक्छ। फोनमा शुभचिन्तकका कुरा सुनेर उनी भक्कानिन्छिन्, आँखाबाट आँसुका धारा बग्छन्, धेरै बोल्नै सक्दिनन्। उनको मुखबाट ‘धन्यवाद’ शब्दमात्र निस्किन्छ।

सामान्य कखरा मात्रै जानेकी उनलाई शुभचिन्तकले किन यसरी बधाई दिइरहेका छन् त ? धेरै कुरा त उनलाई थाहा छैन। उनलाई बिबिसीले आफूलाई छनोट गरेको भन्ने मात्रै थाहा छ। ‘वास्तविक कुरो मलाई अहिले पनि थाहा छैन’, उनले सञ्चारकर्मीसँग भनिन्, ‘जति तपाईंहरूले भन्नुभयो त्यत्ति मात्रै हो।’

बादी समुदायका महिला र बालबालिकाको अधिकारका पक्षमा संघर्ष गर्दै आएकी उमादेवी बादीलाई बिबिसीले संसारभरका एक सय प्रभावशाली महिलाको सूचीमा राखेको छ।

उनी बेलायती सञ्चार संस्था बिबिसी विश्व सेवाले यस वर्ष छानेका संसारभरका प्रभावशाली र प्रेरणादायी एक सय महिलाभित्र पर्न सफल भएकी छन्। उनको नाम १० औं स्थानमा छ। यसै कारण उनी बधाईको पात्र बनेकी हुन्। उनलाई बधाई दिनेको घुइँचो लागेको हो। शुभचिन्तकमध्ये कतिले मोबाइलबाट त कतिले भेटेरै उनलाई बधाई दिइरहेका छन्।

उमादेवीका अनुसार झन्डै एक साताअघि उनलाई बिबिसी नेपाली सेवाबाट एक महिलाले फोन गरेर फोटो मागेकी थिइन्। त्यतिबेला उनी गाउँमै थिइन्। उनले भोलिपल्ट टीकापुर बजार पुगेर फोटो खिचेर पठाइन्। तर फोटो किन मागेको भनेर उनले सोधिनन्। ‘न मैले सोधें न ती महिलाले नै केही बताइन्’, उनले भनिन्, ‘सोचें, कुनै कार्यक्रममा बोलाउन होला।’ फोटो माग्ने तिनै महिलाले सोमबार साँझ फेरि उनलाई फोन गरेर ‘तपाईं बिबिसीको छनोटमा परेको’ भनेर बधाई दिइन्। उनले के छनोट, कस्तो छनोट त्यो पनि सोधिनन्।

त्यसको केही समयपछि छिनछिनमा उनको मोबाइलको घन्टी बज्न सुरु भयो। फोन गर्ने सबैले ‘बधाई’ भन्न थाले तर त्यतिबेला उनी स्वयंलाई बधाईको वास्तविकता थाहा थिएन। पछि बल्ल उनले थाहा पाइन्– आफूले महिला र बालबालिकाका पक्षमा गरेको संघर्षबाट प्रभावित भएर बिबिसीले प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा राखेको रहेछ।

उमादेवीलाई उनको संघर्षमय जीवनयात्राले यो स्थानसम्म पुर्याएको हो। उनले जीवनका हरेक पल बादी समुदायको अधिकार स्थापित गर्न खर्चिएकी छन्। बादी समुदायभित्र पनि खासगरी महिला र बालबालिकाको अधिकारका लागि उनको संघर्ष जारी छ। संघर्षले केही उपलब्धि मिलेको छ, थपका लागि अझै अघि बढ्नुछ।

‘आमाका नाममा नागरिकता’ उनले उठाएको सबैभन्दा ठूलो मुद्दा हो। उनलाई परपुरुषसँगको यौनसम्बन्धपछि जन्मिएका बादी महिलाका सन्तानले नागरिकता नपाएको पीडाले छोयो। यसै कारण उनी आमाको नामबाट पनि छोराछोरीले नागरिकता पाउनुपर्छ भनेर यसलाई साकार पार्न अघि सरिन्।

यो दुई दशकअघिको कुरा हो। तत्कालीन समयमा यस्तो कुरा गर्नु हास्यास्पद ठहरिन्थ्यो। त्यतिमात्रै हैन, राज्यका ऐनकानुनलाई चुनौती दिनु पनि थियो। ‘त्यतिबेला मेरा कुरा सुनेर धेरै मान्छे हाँसेका थिए’, उनले भनिन्, ‘सिडिओले त यस्तो कुरा गर्यो भने जेल हाल्छु समेत भनेका थिए।’

तर, उनी थाकिनन्। उनले पश्चिम तराईका जिल्लामा रहेका बादी समुदायलाई एकत्रित गरिन्। उनको पछाडि सिंगो बादी समुदाय उभियो। उनकै नेतृत्वमा २०६४ सालमा २३ जिल्लाका करिब पाँच सय बादी अगुवाले २६ बुँदे माग राखेर ‘गाउँदेखि सिंहदरबार’ नाम दिएर यात्रा थाले। त्यतिबेला उनी २८ दिन हिँडेर काठमाडौं पुगेकी थिइन्। आन्दोलन ४८ दिनसम्म चल्यो। नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: