Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अझै सवारी दुर्घटना कमी आउन सकेन !

काठमाडौं, मंसिर ९ ।

सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले वर्षेनी करोडौँ रुपैयाँ खर्च गरेपनि सवारी साधनको जाँच गर्ने निकायको लापरबाही र भएका सडकको दूरावस्थाका कारण दुर्घटनामा कमी आउन नसकेको सरोकारवालाहरूले बताएका छन् ।

नेपालमा हालैका वर्षहरूमा सडक दुर्घटनामा वार्षिक २२ सयभन्दा बढीको ज्यान जाने गरेको प्रहरीको आँकडाले देखाउँछ । दुर्घटनापछि अंगभंग भएका संख्या त्योभन्दा धेरै बढी हुने गरेको छ ।

यो सातामात्र दुई ठूला सडक दुर्घटनामा २३ जनाको ज्यान गयो र सडकको नाजुक सुरक्षा अवस्था फेरि छर्लङ्ग भयो ।

लापरबाही कसको ?

सवारी चालकको लापरबाही, क्षमताभन्दा धेरै यात्रु तथा भार बोक्ने प्रवृत्ति, सवारी साधन तथा सडकको दयनीय अवस्था, चालकले मादक पदार्थ सेवन (मापसे) गर्ने जस्ता कारणले सवारी दुर्घटना हुने गरेको विभिन्न अध्ययनहरूले औंल्याएका छन् ।

गत बिहीबार डडेलधुरामा भएको बस दुर्घटनामा १८ जनाको ज्यान गयो ।

सुरक्षा जाँच गर्ने निकायको आफ्नो काम राम्ररी नगरेकाले पनि उक्त दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘४७ जना अर्थात क्षमताभन्दा धेरै यात्रु बोकेर तीव्रगतिमा गइरहेको बसलाई त्यहाँ प्रहरीले जाँच गर्नुपर्ने थियो, तर त्यसो गरिएको देखिएन ।’

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदी भन्छन्, ‘हामीले सवारी चालक, सहयोगी र यात्रुहरूका लागि पनि चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यस्तो विभिन्न स्थानमा छड्के जाँच गरिन्छ र मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई अझ कडा कारबाही गरिरहेका छौँ ।’ प्रायः पहाडी सडकमा बस दुर्घटना हुने गरेको बताइन्छ ।

तर, गत शुक्रवार सप्तरीको समथर मानिने भूभागमा भएको बस दुर्घटनामा ५ जनाको ज्यान गयो भने करिब १५ जना घाइते भए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माको भनाइमा सरकारले सडक सुरक्षाका लागि पर्याप्त काम गरिरहेको छ ।

नेपालमा हालैका वर्षहरूमा सडक दुर्घटनामा वार्षिक रूपमा २२ सयभन्दा बढीको ज्यान जाने गरेको प्रहरीको आँकडाले देखाउँछ। उनी भन्छन्– ‘हरेक सडक निर्माणमा सुरक्षाको छुट्टै काम हुन्छ । यसवर्ष हामीले सडक विभागलाई सडक सुरक्षाका सानातिना कामका लागि भनेर करिब १५ करोड रुपैयाँ दिएका छौँ । यस्तै सडकको नक्सा बनाउँदादेखि निर्माण सम्पन्न गर्दासम्म सडक सुरक्षा अडिट गर्ने गरेका छौँ ।’

ट्राफिक संकेत

तर राजधानी काठमाडौं उपत्यकाका सबै सडकमा नै सडक सुरक्षाका लागि अनिवार्य मानिने ट्राफिक बत्तीहरू र पर्याप्त ट्राफिक संकेत रेखा तथा चिह्नहरू राखेको देखिँदैन । प्रमुख राजमार्गमा समेत पर्याप्त सुरक्षा संकेत चिह्नहरू राखेको पाइँदैन ।

यस्तो अवस्थामा देशभरका सबै सडकहरूमा ट्राफिक संकेत बत्ती तथा चिह्नहरू कहिले र कसरी राखिने हुन् त्यो सबै सडक प्रयोगकर्ताहरूका लागि कौतुहलताको विषय बनिरहेको छ। बीबीसीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: