Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कांग्रेसको कार्यालयमा नेविसंघको धर्ना

काठमाडौं, मंसिर ९ । नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसङ्घले ११ औं महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आइतबार नेपाली कांग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिएको हो ।

पार्टीले नेविसङ्घसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको नेविसङ्घका नेता दीपक भट्टराईले बताए ।

‘दुई वर्ष तीन महिनामा हुन नसकेको नेविसङ्घको १२ औँ महाधिवेशन अब दुई महिनामा हुन्छ भनेर कसरी पत्याउने, नेतृत्वको निर्वाचन नगर्ने खेल हो’ उनले भने ।

नेविसङ्घका नेता हिमालदत्त श्रेष्ठले महाधिवेशन सुनिश्चित गर्नुभन्दा पनि पार्टी नेतृत्वले बहुमतका आधारमा नेविसङ्घको विधान मिच्ने काम गरेकाले आफूहरू धर्ना बस्नु परेको बताए ।

नेविसङ्घको विधानमा निर्वाचन भएको दुई वर्षभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने अन्यथा विशेष परिस्थितिमा तीन महिना थप्न पाउने व्यवस्था छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको मङ्सिर १ गते बसेको बैठकले नेविसङ्घको समयावधि दुई महिना थप गरेको छ ।

यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको काङ्ग्रेस महासमितिको बैठकमा छलफल हुने विधान मस्यौदाबारे छलफल गर्न काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: