Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘चिनियाँ दूतावास आक्रमणमा भारतको हात’

कराची, मङ्सिर ९ । पाकिस्तानको कराचीस्थित चिनियाँ वाणिज्य दूतावासमा शुक्रबार भएको बन्दुक आक्रमणमा भारतको हात रहेको आरोप एक जना वरिष्ठ पाकिस्तानी अधिकारीले लगाएका छन् ।

२३ नोभेम्बरमा भएको उक्त आक्रमणमा २ प्रहरी, २ जना सर्वसाधारण र ३ जना आक्रमणकारी गरेर ७ जनाको ज्यान गएको थियो ।

आक्रमणको जिम्मेवारी पृथकतावादी संगठन बलुचिस्तान लिबरेसन आर्मीले लिएको छ ।

बलुचिस्तान प्रान्तका गृहमन्त्री सलीम खोसाले उक्त घटनामा परोक्ष रूपमा भारतको हात रहेको आरोप लगाउँदै आक्रमणका प्रमुख योजनाकार असलम अच्छुले भारतमा बसेर घटनालाई निर्देशित गरेको बताएका छन् ।

पत्रकारहरूसँगको कुराकानीमा खोसाले केही समय अगाडि अच्छुको मृत्युको समाचार आएपनि उनी भारतको अस्पतालमा आफ्नो उपचार गराइरहेको जानकारी आफूसँग रहेको बताए ।

पाकिस्तानले बलुचिस्तानमा चल्दै आएको पृथकतावादी आन्दोलनमा भारतले सघाउँदै आएको बताउने गरेको छ ।

पाकिस्तानको आतंकवाद नियन्त्रक संगठन (सीटीडी) का प्रमुख  राजा उमर खत्ताबले आक्रमणमा प्रयोग भएको सी-फोर प्लास्टिक विस्फोटक पाकिस्तानमा उपलब्ध नहुने बताएका छन् ।

पाकिस्तानी समाचारपत्र ‘जंग’ले खत्ताबलाई उद्धृत गर्दै आक्रमणकारीहरूलाई त्यस प्रकारको विष्फोटक पदार्थ यो आक्रमण गराउने शक्तिहरूले उपलब्ध गराएको जनाएको छ । खत्ताबले यसमा ‘दुश्मन’ देशको खुफिया एजेन्सीहरूको हात रहेको बताए ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यस मामिलामा पाकिस्तानी सरकार, विपक्ष, सेना र चीन सरकार साथ साथ रहेको बताएका छन् ।

उता चीनले दूतावासमा भएको आक्रमणलाई असफल गराएको भन्दै पाकिस्तानी सुरक्षा एजेन्सीको प्रशंसा गरेको छ ।

प्रधानमन्त्री खानले चीनले चीन-पाकिस्तान आर्थिक करिडोर- सिपेकमा दुई देशबीच सहयोग जारी रहने आश्वासन दिएको बताएका छन् ।

उनले दुई देशबीच भएका सम्झौता देखि नसहने शक्तिको यसमा हात रहेको समेत बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: