प्रधानमन्त्री भन्छन्, ‘छोटो समयमा छिटो विकास कसरी हुन्छ भन्ने कुरा हामी देखाउछौं’

काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तीव्र रुपमा अघि बढाइने बताएका छन् ।

मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै उनले विकासको गतिलाई द्रुत गतिमा कसरी बढाउनु पर्दछ भन्ने जानकारी सरकारलाई रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौँ ।’

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्न गत असोज २८ गते डा. रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय मानव संसाधन प्रक्षेपण कार्यदल गठन गरेको थियो ।

याे पनि पढ्नुस  नेकपाले तयार पारेको तल्ला कमिटीको मोडल यस्तो छ-

समितिका अन्य सदस्यमा डा. माधव दाहाल, डा. इन्दिरा पराजुली, डा. विश्ववाला थापा, डा. विजयदत्त, डा. ध्रुव गौतम र डा. राजेश अहिराज रहेका छन् ।

योजनाबद्ध विकासका लागि मानव संसाधन प्रक्षेपण आवश्यक रहेको प्रधानमन्त्री ओलीले जोड दिँदै सरकार समृद्ध नेपाल, सुखी नेपाली बनाउने कार्यमा उच्च प्राथमिकतासाथ लागेको जानकारी दिए ।

याे पनि पढ्नुस  कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने जानकारी हुनुपर्ने चर्चा गर्दै कार्यदलले बनाउने प्रतिवेदनले मानव संसाधन आपूर्तिलाई मार्गदर्शन गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमूलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन दिए ।

“आगामी धेरै वर्षसम्म यस कार्यदलको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ, चिकित्सक, इञ्जिनीयर, शिक्षक कति चाहिने, कृषिमा कति जनशक्ति कति चाहिने यी सबै कुरा तथ्यगत रुपमा कार्यदलले ल्याउनुपर्दछ । आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ,” प्रधानमन्त्री ओलीले भने।

याे पनि पढ्नुस  नेपालको विदेश नीति चीन र भारतबाट शुरु हुन्छ : प्रधानमन्त्री

कार्यदलले ल्याएको तथ्यगत प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोग, विभिन्न मन्त्रालयले पनि योजना बनाउने भएकाले यसलाई त्रुटिरहित बनाउन प्रधानमन्त्री ओलीले निर्देशन दिए । कार्यदलको निर्देशक समितिको संयोजकमा शिक्षा, विज्ञान प्रविधिमन्त्री छन् । कार्य दलको समयावधि चार महिना रहेको छ । -रासस

कमेन्ट गर्नुहोस्