Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

माक्र्स र लेनिनवादको सिद्धान्त प्रयोग गर्दै समाजवाद ल्याउने प्रयासमा छौंः महासचिव पौडेल

काठमाडौं, मंसिर १० । ग्रिसको राजधानी एथेन्समा जारी विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको २०औं बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट केन्द्रीय सदस्य विष्णु रिजालले आफ्नो धारणा राखेका छन् ।

कम्युनिस्ट पार्टी अफ ग्रिसले आयोजना गरेको बैठकमा धारणा राख्दै रिजालले नेपालका दुई ठूला कम्युनिस्ट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकतापछि नेकपा विश्वकै बलिया कम्युनिस्ट पार्टीहरुमध्येको एक बनेको बताए ।

उनले एमालेले अवलम्बन गर्दै आएको जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अवलम्बन गर्दै आएको माओवाद तथा २१औँ शताब्दीको जनवादलाई थाती राखेर जनताको जनवादका रुपमा नयाँ कार्यक्रम अघि सारिएको बैठकमा जानकारी गराए ।

उनले आफूहरु पनि माक्र्सवाद र लेनिनवादको सिद्धान्तको प्रयोग, विकास र अनुभवबाट सिक्दै मुलुकमा समाजवाद ल्याउने प्रयासमा लागि रहेको बताए ।

युद्धका नयाँ-नयाँ आयामहरु देखा परिरहेका चर्चा गर्दै उनले हिजो जस्तो सिधै अर्काको मुलुकमाथि उपनिवेश कायम गर्ने अवस्था नभए पनि कमजोर, साना, गरीब र कम विकसित राष्ट्रमाथि आधिपत्य कायम गर्ने अभ्यास जारी रहेको उल्लेख गरे ।

आणविक हतियारको होड, व्यापारका नाममा बजारमार्फत अर्थतन्त्रमाथि कब्जा र प्राकृतिक सम्पदाहरुको दोहन विश्वव्यापी समस्याका रुपमा हाम्रा अगाडि उभिएको उनले बताए । यही मङ्सिर ६ गतेदेखि शुरु भएको बैठकमा ७३ देशका ९१ पार्टी प्रतिनिधिको सहभागिता रहेको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: