Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

श्रमजीवी वर्ग नयाँ युगमा प्रवेश: निजी क्षेत्रका श्रमिकलाई अवकाशपछि आजीवन पेन्सन

काठमाडौँ — निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण (पेन्सन) को व्यवस्थासहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ । यसको औपचारिक सुरुवात सरकारले मंगलबारदेखि गर्दै छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको हो । ‘निजी क्षेत्रका कम्तीमा ३५ लाख श्रमिकको सामाजिक सुुरक्षा ग्यारेन्टी गर्न कार्यक्रम लागू गरिएको हो,’ श्रममन्त्री गोकर्ण विष्टले भने, ‘श्रमजीवी वर्ग नयाँ युगमा प्रवेश गर्नेेछ ।’

सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनलगायत सुविधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अवधिभर निश्चित रकम योगदान गर्नुपर्नेछ । कोषमा झन्डै १९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भइसकेको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षाका लागि निजी र सार्वजनिक क्षेत्रका सम्पूर्ण कामदारको मासिक तलबबाट एक प्रतिशत रकम कोषमा जम्मागर्दै आएको छ ।

श्रमसचिव महेशप्रसाद दाहालका अनुसार कोषमा प्रतिमहिना डेढ अर्ब थपिँदै जानेछ । ‘यो सबभन्दा ठूलो कोष हुनेछ । सञ्चयकोषमा योगदान गर्ने ६ लाख छन् । यसमा एकै पटक ३५ लाखको योगदान हुनेछ,’ उनले भने, ‘तत्काल उद्योग/प्रतिष्ठानमा कार्यरत श्रमिकले कोषमा नियमित रूपमा तलबबाट निश्चित रकम जम्मा गरी सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

अनौपचारिक क्षेत्रलाई बिस्तारै समेट्दै लैजाने योजना छ ।’ वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत कोषमा योगदान गर्ने श्रमिकले ६० वर्ष कटेपछि निवृत्तिभरण (पेन्सन) वा एकमुष्ट रकम बुझ्न पाउने व्यवस्था गरिएको छ । ‘१५ वर्ष निरन्तर योगदान गरेका श्रमिकले यस्तो सुविधा पाउनेछन् । त्यसका लागि एउटै रोजगारदातासँग श्रम गर्नु पर्दैन,’ श्रमसचिव दाहालले भने ।

कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चयकोषबापत र ८.३३ प्रतिशत उपदानबापत समेत गरी जम्मा १८.३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोषबापत गर्नेे १० प्रतिशत योगदान गरी जम्मा २८.३३ प्रतिशत रकमबाट वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिनेछ ।

योगदानकर्ताले श्रम नियमावलीबमोजिम २०७४ भदौ १९ अगाडिको उपदानबापत प्राप्त गर्नेे रकम रोजगारदाताबाट भुक्तानी लिई त्यसभन्दा पछाडिको उपदान रकम मात्र यस योजनाका लागि पठाउनुपर्नेछ ।

२०७६ साउन १ गतेपछि कार्यरत श्रमिकले यो सुविधा पाउनेछन् । ‘हाल सञ्चयकोष र उपदान प्राप्त गरिरहेका श्रमिकहरूले चाहेमा वा यस योजनामा सहभागी हुने भनी उनीहरूका प्रतिष्ठानमा सामूहिक सम्झौता भएको अवस्थामा समावेश हुन्छ,’ उनले भने ।

योगदानकर्ताको अवकाश उमेर पूरा भएपछि कोषमा जम्मा गरेको रकम (रोजगारदाताका तर्फबाट भएको योगदानसमेत) र उक्त रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगलाई १८० महिना (१५ वर्ष) ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजले जीवनकालभर निवृत्तिभरण पाउने दाहालले बताए ।

योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा हकवालालाई कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट रूपमा प्रदान गरिनेछ ।

अवकाश सुविधा लिने योगदानकर्ताले कोषमा जम्मा गरिएको सञ्चयकोष र उपदानबापतको योगदान रकम, रोजगारदाताको तर्फबाट गरेको योगदान र त्यसमा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने रकम निज अवकाश हुँदाका बखत एकमुष्ट भुक्तानी पाउने सुविधा रहेको सचिव दाहालले बताए ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व
सामाजिक सुरक्षा कोषमा ६ महिना योगदान गर्ने योगदानकर्ताले औषधि उपचार तथा स्वास्थ्य सुविधा पाउनेछन् तर मातृत्व सुरक्षाबापत सुविधा पाउन १८ महिनाको अवधिमा १२ महिना योगदान गरेको हुनुपर्छ ।

योगदानकर्तालाई चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाबापतको शुल्क, रोग परीक्षण तथा उपचारबापतको खर्च, औषधिको बिलबमोजिमको खर्च, योगदानकर्ता वा योगदानकर्ताको श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्मको शिशुको उपचारबापतको खर्च, घरैमा बसी उपचार गराएकामा चिकित्सक वा स्वास्थ्यकर्मीले बिरामीको घरमै गई प्रदान गरेको परामर्श सेवाबापतको शुल्क दिइनेछ ।

‘अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रूपमा एक लाख रुपैयाँमा नबढ्ने गरी सुविधाको रकम भर्ना भएको अस्पतालमा सिधै भुक्तानी गरिनेछ,’ उनले भने, ‘अस्पताल भर्ना भई उपचार गराउनुपर्ने अवस्थाबाहेकका योगदानकर्तालाई चिकित्सकको प्रेस्क्रिप्सनबमोजिम वार्षिक रूपमा बढीमा २५ हजार रुपैयाँसम्म प्रदान गरिनेछ ।’

महिला योगदानकर्ता वा योगदानकर्ताकी पत्नी प्रसूति भएको अवस्थामा प्रसूति स्याहारका लागि प्रतिशिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम उपलब्ध गराइनेछ । यस्तो रकम २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत प्रदान गरिनेछ ।

रोजगारदाताबाट पारिश्रमिकसहितको बिरामी बिदा पाउने अवधि (कम्तीमा वार्षिक १२ दिन) भन्दा लामो अवधिसम्म अस्पतालमा बसी उपचार गराउँदा वा चिकित्सकको सिफारिसमा घरमै बसी उपचार गराउनुपर्ने अवस्थाका योगदानकर्ताले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम बिरामीसुविधाबापत पाउनेछन् ।

रोजगारदाताबाट पारिश्रमिकसहितको प्रसूति बिदा पाउने अवधि (कम्तीमा साठी दिन) बाहेक प्रसूति बिदा बस्नुपर्दा सो अवधिका लागि निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशतका हिसाबले योगदानकर्तालाई प्रसूति बिदाको रकम सुविधाबापत भुक्तानी गरिनेछ ।

बिरामी बिदा वा प्रसूति बिदा पाउने अवस्थामा रोजगारदाताको व्यवसाय बन्द भएको वा रोजगारी अन्त्य भएका कारण बिदा पाउने अवस्था नभएमा रोजगारदाताले प्रदान गर्नुपर्ने बिदा अवधिको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषले योगदानकर्तालाई भुक्तानी गर्नेछ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजना
योगदानकर्ता रोजगारीजन्य दुर्घटनामा परी वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च कोषले नै बेहोर्ने सचिव दाहालले बताए । रोजगारीजन्यबाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले ७ लाख रुपैयाँसम्मको मात्र उपचार खर्च बेहोर्नेछ ।

अस्थायी पूर्ण अक्षमता भएका योगदानकर्ताले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रूपमा काममा नफर्कंदासम्म पाउनेछन् । स्थायी अक्षमता भएका योगदानकर्ताको अक्षमताको अनुपातमा खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी निजको अक्षमता प्रतिशतका आधारमा जीवनकालभर निवृत्तिभरण सुविधाबापत मासिक रूपमा रकम पाउनेछ ।

स्थायी पूर्ण अक्षमता भएका योगदानकर्ताले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रूपमा जीवित रहुन्जेल वा आफैं हिँडडुल गर्न नसकेमा हेरचाह गर्ने आश्रित परिवारको सदस्य वा अन्य व्यक्ति वा संस्थालाई भुक्तानी गर्नेव्यवस्था गरेको छ ।

आश्रित परिवार सुरक्षा योजना
दुर्घटना वा व्यवसायजन्य रोगका कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले जीवित रहेसम्म निवृत्तिभरण पाउनेछन्, तर यो सुुविधा योगदानकर्ताको पति वा पत्नीले अर्को विवाह गरेमा वा निजको वैकल्पिक रोजगार रहेको अवस्थामा भने दिइनेछैन ।

योगदानकर्ताको मृत्यु भएको अवस्थामा १८ वर्ष उमेर पूरा नभएका सन्ततिले शैक्षिक वृत्तिबापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा पाउनेछन् तर एकभन्दा बढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकमलाई दामासाहीले प्रदान गरिनेछ ।

‘योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोरा वा छोरी नभएको तर एकाघर सगोलका आश्रित बाबुआमा रहेछन् भने निजहरूलाई योगदानकर्ताको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम निजहरूको जीवनकालभर मासिक रूपमा कोषले प्रदान गर्नेछ,’ उनले भने, ‘तर बाबुआमा दुवै जीवित भएमा दुवैलाई दामासाहीले सुविधा प्रदान गरिनेछ ।’

जुनसुकै कारणले योगदानकर्ताको मुत्यु भएमा अन्तिम संस्कारमा आश्रित परिवारलाई २५ हजार रुपैयाँ एकमुष्ट उपलब्ध गराइने उनले बताए ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: