Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रचण्डकाे प्राथमिकतामा माडीः डेढ करोड बजेट विनियोजन, स्थानीय उत्साहित

चितवन, मंसिर ११ । चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्डको विकास बजेट माडी केन्द्रीत रहेको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले निर्वाचनको समयमा माडी क्षेत्रबाट निकै आलोचना खेप्नुपरेको थियो ।

स्थानीय पूर्वाधार विकास तथा साझेदारी कार्यक्रमवापत निकासा भएको रकममा माडी क्षेत्र प्राथमिकतामा परेको हो ।

सो क्षेत्रको निर्वाचित सांसद संयोजक हुने गरी चार करोड विकास बजेट जिल्ला समन्वय समितिमार्फत् निकासा हुने गर्दछ ।

जिल्ला समन्वय समितिले उपलब्ध गराएको कार्यक्रम तालिकाअनुसार माडी नगरपालिका क्षेत्रका लागि एक करोड ७१ लाख बजेट विनियोजन गरिएको छ ।

भरतपुर महानगरपालिकाका २० वटा वडाका लागि दुई करोड २७ लाख बजेट विनियोजन भएको छ । माडीमा नौ वटा वडा रहेका छन् ।

माडीका पूरै नगरपालिकामा २१ हजार ६७३ मतदाता छन् । भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् ।

ती सबै वडामा एक लाख ५० हजार २७३ मतदाता रहेका छन् जसमध्ये ६६ प्रतिशत हाराहारी क्षेत्र नं ३ मा पर्दछ ।

दाहालले माडीमा सडक, कल्भर्ड, पुल, पार्क, विद्यालय लगायतका पूर्वाधारमा बजेट विनियोजन गरेका छन् । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जनसंख्याको तुलनामा प्रचण्डको प्राथमिकता माडी क्षेत्रमा परेको बताए ।

जुन क्षेत्र विकासका दृष्टिले पछाडि परेको छ त्यसलाई नै प्राथमिकतामा अध्यक्ष दाहालले पारेको उनले बताए । सशस्त्र द्वन्द्वमा माडीको बाँदरमुढेमा भएको घटनाका कारण प्रचण्डले निर्वाचनको समयमा आलोचना खेप्नु परेको थियो ।

अहिले विकास बजेटमा प्राथमिकतामा परेसँगै स्थानीयवासीमा उत्साह थपिएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले दाहालले बजेट बाँडफाँडमा माडीलाई प्राथमिकतामा राख्नु भएको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: