Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतको अड्डीले डुब्दै सार्क, नेपाललाई कूटनैतिक चुनौती

काठमाडौँ, मङ्सिर १२ । दक्षिण एसियाली सहयोग संगठन- सार्कको १९ औं सम्मेलन भारतको अड्डीले फेरि अनिश्चित हुने भएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सार्क शिखर सम्मेलनमा कुनै पनि हालतमा सामेल नहुने भनेपछि सम्मेलनको मात्रै नभई सार्ककै भविष्य अन्यौलमा परेको हो ।

उनले पाकिस्तानले दिएको सम्मेलनको निमन्त्रणालाई आफूहरूले सकारात्मकरूपमा नलिने भन्दै पाकिस्तानले भारतमा आतंकवादलाई प्रायोजित गर्ने गरेको आरोप दोहोर्याएकी थिइन् ।

स्वराजले पाकिस्तान-भारत जोड्ने करतारपुर करिडोरको उद्घाटन समारोहमा जाने या नजाने भन्ने पत्रकारहरूको जिज्ञासाको उत्तर दिने क्रममा यसो भनेकी हुन् । करतारपुर करिडोरलाई दुवै देशले प्राथमिकताका साथ लिने गरेका छन् । उक्त कार्यक्रममा भारतको प्रतिनिधित्व पन्जाब राज्यका दुई जना क्याबिनेट मन्त्री हरसिमरत कौर र हरदीपसिंह पुरीले गर्ने बताइएको छ ।

२०१६ नोभेम्बर १५ र १६ मा नै पाकिस्तानको राजधानी इस्लामाबादमा हुने भनिएको सार्क शिखर सम्मेलनमा भारतले उपस्थित हुन असमर्थ रहेको जनाएपछि उक्त समय सम्मेलन रोकिएको थियो । त्यसपछि भारतसँगै बंगलादेश र भुटान र अफगानिस्तानले समेत पाकिस्तानमा आयोजना हुने सम्मेलनमा सामेल हुन असमर्थता जनाएका थिए ।

भारतले उक्त समय जम्मु कास्मिर राज्यको उरी जिल्लामा भएको चरमपन्थी आक्रमणमा कथित रूपमा पाकिस्तानबाट संचालन भैरहेको संगठन जैस-ए-मोहम्मदको संलग्नता रहेको भन्दै पाकिस्तानसँग कुनै पनि द्विपक्षीय सम्बन्ध रहन नसक्ने भन्दा सम्मेलन रोकिएको थियो ।

सार्कको प्रावधान अनुसार कुनै एक मात्र सदस्यको पनि अनुपस्थिति रहेको स्थितिमा सार्क शिखर सम्मेलन हुन सक्दैन । यस अघि सार्क शिखर सम्मेलन २६ र २७ नोभेम्बर २०१४ मा काठमाडौँमा भएको थियो ।

भारतले सार्कको विकल्पमा बिमस्टेकलाई उभ्याउने गरेको धेरैको ठम्याई छ । बिमस्टेकमा सार्कका दुई सदस्य राष्ट्रहरू पाकिस्तान र अफगानिस्तान संलग्न छैनन् ।

हाल नेपाल सार्कको अध्यक्ष रहेको छ र १९ औं शिखर असम्मेलन गराएर नेतृत्व हस्तान्तरण गर्नु नेपाललाई समेत कूटनैतिक चुनौती बन्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: