‘अहिलेको समस्या कर्मचारी नगएर होइन, संख्या नै अपुग भएर हो’

काठमाडौं, मंसिर १२ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक निजामती कर्मचारीको सङ्ख्या नै कमी भएका कारण प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव खड्किएको संसदीय समितिलाई जानकारी गराएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले प्रदेश र स्थानीय तहमा कर्मचारी नगएरभन्दा सङ्ख्या नपुगेर कठिनाइ भइरहेको बताए ।

“सङ्घ, प्रदेश र स्थानीय तह सञ्चालनमा देखिएको कर्मचारी व्यवस्थापनसम्बन्धी अप्ठ्यारो र अड्चनलाई सम्बोधन गर्न कर्मचारी समायोजनसम्बन्धी अध्यादेशको तयारी गरिएको छ”, उनले भने, “कर्मचारी खटाउने हो कि पठाउने वा त्यही जिम्मेवारी दिने भन्ने प्रष्ट कानूनी व्यवस्था नभएकाले छिटो टुङ्गोमा पुग्न अध्यादेश ल्याउन भनिएको हो ।”

याे पनि पढ्नुस  एक तह बढुवा गरेर कर्मचारी समायोजन

सचिव थपलियाले सङ्घ, प्रदेश र स्थानीय तहका लागि आवश्यकपर्ने मोटामोटी दरबन्दी कायम भएको उल्लेख गर्दै “सङ्घका लागि ५६ हजार १३१, प्रदेशका लागि २१ हजार ३९९ र स्थानीय तहका लागि हाल कायम रहेको ३१ हजारसहित ५८ हजार २६२ रहेको छ, अहिले प्रदेश र स्थानीय तहमा पठाउन १४ हजार कर्मचारी अपुगछ”, भने ।

अध्यादेश र कर्मचारीको आँकडासम्बन्धी मन्त्रालयकातर्फको प्रस्तुति सुनेपछि छलफलमा भाग लिँदै सांसद पम्फा भुसालले कर्मचारी समायोजनलाई वस्तुवादी र वैज्ञानिक बनाउन सुझाव दिए ।

सांसद रेखा शर्माले कर्मचारी समायोजन विधेयक तयार गर्दा समितिलाई छल्ने कामले समस्याको साधान गर्न अप्ठ्यारो हुने पक्षमा ध्यान पुर्याउन सुझाव दिँदै कतिकतैबाट प्रश्न नआउने ढङ्गबाट समायोजनको विषय टुङ्ग्याउनुपर्ने बताइन् ।

याे पनि पढ्नुस  ‘१५ दिनभित्र समायोजन, कर्मचारी अभाव पूरा गर्न २० हजार भर्ना’

सांसद नवराज सिलवालले हामी उत्तरदायी, पारदर्शी र जिम्मेवारी भएर अघि बढ्न चाहन्छौँ भने सरकारले समितिलाई किन पन्छाएर काम गर्ने अनि कर्मचारीले पनि सरकारलाई किन अटेर गर्ने भनी प्रश्न गरे ।

सांसद अमरेशकुमार सिंहले अध्यादेशबाट मुलुक चलाउछु भन्ने सोच लोकतन्त्र विपरीतको कार्य हो भन्दै सङ्घ, प्रदेश र स्थानीय तहबीचमा देखिएको अविश्वासलाई विश्वासमा परिणत गर्ने काम जुट्न सरकारलाई सुझाव दिए ।

सांसद यशोदाकुमारी सुवेदीले सरकारले संसदीय समिति र संसदलाई छलेर अध्यादेशको बाटोबाट अघि बढ्न खोज्दा थप शङ्का पैदा भएको धारणा व्यक्त गरे । सांसद प्रेम सुवालले लोकतन्त्रलाई संस्थागत गर्न संसद्भित्रै बहस र छलफल गरेर अघि बढ्नु उपयुक्त हुने सुझाव दिए ।

याे पनि पढ्नुस  चुरे बोर्ड पदाधिकारीको विज्ञतामा प्रश्न

सांसद विजय सुब्बाले कर्मचारी नभएका कारण विकास खर्च हुन नसक्ने भन्ने कुराले दु्रतमार्गको मात्र होइन, देश नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) विना चलेको हो कि भन्ने भान भएको धारणा व्यक्त गरे । सांसद छक्कबहादुर लामाले कतिपय स्थानीय तहले जथाभावीरुपमा चल्ने प्रयास गर्दा जनतालाई राहत होइन, आहत हुने काम भएको बताए।

सांसद रामसहायप्रसाद यादवले सङ्घीयताको मूल्यमान्यतालाई अनुशरण गर्ने हो भने प्रदेशलाई कर्मचारी भर्ना गर्ने अधिकार दिइनुपर्ने बताए । सांसद कृष्णगोपाल श्रेष्ठले समितिको कार्यक्षेत्रका विषयमा सरकारलाई पर्याप्त छलफल गरेर ध्यानाकर्षण गर्नसक्ने धारणा व्यक्त गरे । -रासस

कमेन्ट गर्नुहोस्