Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पाँच सय जन्ती बोकेर आदित्यनाथ जनकपुर आउने निश्चित

जनकपुर, मंसिर १३ । मंसिर २६ गते हुने राम–जानकी विवाह महोत्सवमा जन्ती बनेर भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने निश्चित भएको छ । आदित्यनाथको भ्रमण तयारीमा प्रदेश २ सरकार र जानकी मन्दिर व्यवस्थापनले काम थालिसकेको छ ।

जानकी मन्दिर परिसरमा बिहीबारदेखि ठूलो मञ्च (स्टेज) को निर्माण सुरु भएको छ। राम–सीताको प्रतिकात्मक विवाहको सबै बिधिमा उपस्थित रहने गरी आदित्यनाथ आउने भएपछि यसवर्षको विवाह महोत्सवलाई विशेषरूपमा मनाइन लागिएको छ।

विवाहपञ्चमीको सबै विधि जानकी मन्दिर र रंगभूमि मैदानमा सम्पन्न गरिने छ। विवाह महोत्सवका लागि प्रदेश सरकारले जानकी मन्दिरलाई ५० लाख विनियोजन गरेको छ।

जानकी मन्दिर र रंगभूमि मैदानमा विशाल मञ्च र पन्डालको निर्माण भइरहेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको भाषणको कार्यक्रम नरहे पनि उनीसँग आउने करिब ५ सय जन्तीका लागि मञ्च र पन्डाल निर्माण भइरहेको जानकी मन्दिर व्यवस्थापनले जनाएको छ।

उत्तर प्रदेशको अयोध्याबाट आदित्यनाथसँगै साधु–सन्त सम्मिलित ५ सयजना जन्ती बनेर आउन लागेको प्रदेश सरकारले जनाएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले रामजानकी विवाह महोत्सवमा सहभागि हुन आदित्यनाथ जनकपुर आउने निश्चित भएको बताए।

प्रदेश २ सरकारले आदित्यनाथको जनकपुर भ्रमण भव्य बनाउन तयारी थालिसकेको पनि मुख्यमन्त्री राउतले जानकारी दिए। ‘योगी आदित्यनाथको भ्रमण उदाहरणीय बनाउन प्रदेश सरकारले तयारी थालेको छ,’ मुख्यमन्त्री राउतले भने, ‘उहाँको सम्मानमा प्रदेश सरकारले दिवा भोज (भण्डारा) को समेत आयोजना गर्दैछ।’

प्रदेश सरकारको कार्यालय रहेको जनकपुर चुरोट कारखानामा भोज आयोजनाका लागि तयारी सुरु गरिएको छ। भोजका लागि जचुकालिको कर्भड हल एरियाको खाली चौरमा ठूलो पण्डालको निर्माण गरिँदै छ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ मंसिर २६ गते अयोध्याबाट आउने जन्तीको अगुवाइ गर्दै जनकपुर पुग्दैछन्। प्रदेश सरकारका अनुसार आदित्यनाथ विवाहपञ्चमीको दिन जानकी मन्दिर र रंगभूमि मैदानमा हुने राम–सीताको प्रतिकात्मक वैवाहिक संस्कारको सबै विधिमा सहभागी हुनेछन्।

नेपाल र भारत सरकारले औपचारिक घोषणा नगरेकाले आदित्यनाथको जनकपुर भ्रमणबारे अन्योल रहेका बेला मुख्यमन्त्री राउतले उनी आउने भनेर नै तयारी भइरहेको बताए।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले विवाहपञ्चमीमा भारतबाट विशेष पाहुना आउन लागेकाले यसपाली विशेष आयोजना गरिएको बताए। उनका अनुसार आदित्यनाथ आफैं ५ सय जन्ती बोकेर विवाहपञ्चमीमा जनकपुर आउँदैछन्। कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: