Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतको राजधानीमा विशाल किसान मार्च, मोदी सत्तालाई आयो चुनौति (फोटो फिचर)

नयाँ दिल्ली, मङ्सिर १४ ।

भारतभरका किसानहरू विभिन्न मागहरू राखेर देशको संघीय राजधानी दिल्लीमा भेला भएका छन् । बिहिबार देखि नयाँ दिल्लीको रामलीला मैदानमा जम्मा भएका किसानहरू भारतका विभिन्न राज्यहरूबाट आएका हुन ।

प्रदर्शनमा उत्रिएका किसानहरू कृषि उत्पादनको उचित मूल्य र कृषि ऋण मिनाहा गर्नुपर्ने माग गरिराखेका छन् । भारतमा बैंकहरूबाट लिएको कृषि ऋण तिर्न नसकेर सन् १९९५ देखि २०१५ सम्म तीन लाख बढी किसानहरूले आत्महत्या गरिसकेका छन् । किसान संगठनहरूका अनुसार यो प्रहरीको जानकारीमा रहेको तथ्यांक हो, देशका भित्री ग्रामीण बस्तीहरूमा भएका घटनाहरूबारे प्रहरीलाई थाहा नहुने भएकाले यो संख्या अझै बढी हुन सक्छ ।

शुक्रवार उनीहरूले संसद भवन मार्च गर्दै छन् । उनीहरू संसदबाट विशेष अध्यादेश ल्याउन माग गर्दै छन् । यस विशाल जनप्रदर्शनमा दुई सय भन्दा बढी किसान संगठनहरूबाट एक लाख भन्दा बढी प्रदर्शनकारी सामेल रहेका छन् ।

किसान संगठनहरूले, मोदी नेतृत्वको वर्तमान भारत सरकार सबैभन्दा बढी किसान विरोधी रहेको आरोप लगाएका छन् ।

किसान मुक्ति मार्च भनिएको यस प्रदर्शनलाई दिल्लीका मुख्य मंत्री अरविन्द केजरीवाल र भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले समेत सम्बोधन गर्ने बताइएको छ ।

प्रदर्शनकारीहरूले सरकार मूल मुद्दाहरू सम्बोधन गर्न छोडेर राम मन्दिर जस्ता अनावश्यक मूद्दाहरूमा अल्झाइराखेको आरोप लगाएका छन् । यस प्रदर्शनमा विद्यार्थी, पत्रकार, डाक्टर, कलाकार लगायत समाजका विभिन्न तह र तबकाको समर्थन रहेको छ ।

भारतमा भोकमरीको शिकार हुनेमा सबैभन्दा बढी किसान पर्ने गरेका छन् । त्यति मात्र होइन बजारमा रहेका बिचौलियाहरूका कारण उनीहरूले आफ्नो उत्पादन तोकिएको भन्दा धेरै कम मूल्यमा बेच्न बाध्य हुनु परेको बताइन्छ ।

अहिले भारतीय संसदसम्म पुग्ने बाटोमा सुरक्षा व्यवस्था कडा गरिएको छ र किसानहरूलाई संसद भवन पुग्न नदिने प्रयास गरिएको छ ।

प्रदर्शनका कारण राजधानी दिल्लीको यातायात अवरुद्ध भैरहेको बताइएको छ । यस प्रदर्शनको नेतृत्व अखिल भारतीय किसान संघर्ष समन्वय समितिले गरिराखेको छ । युओ किसान र कृषि मजदूरहरूका दुई सय नौ संगठनहरूको संयुक्त संस्था भएको बताइन्छ ।

दिल्लीको रामलीला मैदानमा जम्मा भएका किसानहरूका लागि दिल्ली जल बोर्डले पिउने पानीको व्यवस्था गरेको छ भने आम आदमी पार्टीका प्रादेशिक सांसदहरूले उनीहरूको खानाको व्यवस्था गरेका छन् । यसका अतिरिक्त दिल्लीका पांच प्रमुख गुरुद्वाराहरूले पनि किसानहरूको बसोबासको व्यवस्था गरिराखेका छन् ।

नेशनल साउथ इंडियन रिभर इंटर-लिंकिंग एग्रीकल्चरलिस्ट्स असोसिएशनका करिब १२ सय सदस्यहरू ऋण तिर्न नसकेर आत्महत्या गरेका आफ्ना दुई सहकर्मीहरूको खप्परका साथ् प्रदर्शनमा आएका छन् ।

उता दक्षिण भारतीय राज्य तमिलनाडुबाट आएका किसानहरूले आफूहरूलाई शुक्रबार संसद प्रवेश गर्न नदिए नग्न प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

यसलाई राजधानी दिल्लीमा सबैभन्दा ठुलो किसान प्रदर्शन भनिन थालेको छ । बिहिबार साँझ रामलीला मैदानमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो जसमा ग्रामीण भारतका प्रसिद्ध कलाकार एवं कविहरूले आआफ्ना प्रस्तुति राखेका थिए ।

यस अघि गत २२ नोभेम्बरमा मात्रै खँडेरीको क्षतिपूर्ति र आदिवासीहरूलाई वन-जंगलको अधिकार सुम्पिनुपर्ने माग गर्दै भारतकै अर्को प्रमुख सहर मुम्बईमा पनि प्रदर्शन भएको थियो ।

आठ महिना अघि पनि किसानहरूले महाराष्ट्रको नासिकदेखि मुम्बईसम्म पैदल मार्चमा भाग लिएका थिए ।

यस प्रदर्शनलाई भारतका विपक्षी पार्टीहरूको समर्थन रहेको छ । केही महिना पछि मात्रै संघीय संसद्को निर्वाचनको तयारीमा रहेको भारतमा यस्ता प्रदर्शनहरूले सत्तारूढ दल बिजेपीलाई नोक्सान पुग्न सक्ने आकलन गरिएको छ ।

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: