Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल र म्यान्मारबीच व्यापार सम्झौता सम्पन्न

काठमाडौँ, मङ्सिर १४ । नेपाल र  म्यान्मारबीच पहिलो पटक व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु कीबीच भएको अलग अलग भेट र द्विपक्षीय वार्तापछि उहाँहरुको उपस्थितिमा शुक्रबार सो सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्माका तर्फबाट अन्तर्राष्ट्रिय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरेका छन् ।

दुई देशबीच खासगरी खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि सम्झौताले बाटो खोलेको छ । दुई देशका उद्योग वाणिज्य महासङ्घबीच विगतदेखि सम्झौता भई व्यापार आदानप्रदान हुँदै आएको छ । ‘एशिया प्रशान्त शिखर सम्मेलन’मा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा काउन्सिलर सु की बिहीबार काठमाडौँ आएकी हुन् ।

वार्तामा सहभागी प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईका अनुसार दुई देशबीच व्यापार र आर्थिक गतिविधि बढाएर हवाई सम्पर्कसमेत स्थापना गर्ने विषयमा छलफल भएको थियो । हाल नेपालमा म्यान्मारबाट दाललगायत खाद्यान्न आपूर्ति भएकाले दालको भाउ स्थिर हुन योगदान पुगेको बताइएको छ ।

भट्टराईले लुम्बिनीमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएपछि दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गरिने र नेपालले सन् २०२० का लागि घोषणा गरेको नेपाल पर्यटन वर्षमा म्यान्मारबाट पर्यटक वृद्धि गराउन म्यान्मारले सहयोग गर्ने समझदारी भएको छ ।
डा भट्टराईले नेपाल सिद्धार्थ गौतमको जन्मस्थल रहेको र म्यान्मार बौद्धमार्गी मुलुक भएकाले पनि दुई देशबीचको भावनात्मकका साथै व्यापारिक सम्बन्ध कायम रहेकाले आगामी दिनमा व्यापार र लगानी वृद्धि हुने सम्भावना रहेको छ । म्यान्मारले गौतम बुद्धजन्मस्थल लुम्बिनीमा चैत्य निर्माण गरेको छ ।

प्रधानमन्त्री ओली र सु कीबीच बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक)लाई थप सक्रिय तुल्याउन दुवै पक्षले काम गर्ने विषयमा पनि छलफल भएको थियो ।
वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, डा भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, म्यान्मारका लागि नेपाली राजदूत भीम उदास तथा म्यान्माका मन्त्री टिनलगायतको उपस्थिति थियो । पहिले बर्मा भनिने म्यान्मामा नेपाली मूलका करीब दुई लाख मानिसको बसोबास छ ।

सुकीको पुरानो सम्बन्ध
नेत्री सुकीको काठमाडौँसँगको साइनो निकै पुरानो रहेको छ । यसैलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा स्टेट काउन्सिलर सु कीले आफूले विगतमा बसेको समयमा भन्दा काठमाडौँमा धेरै परिवर्तन भएको पाएको अनुभव सुनाइन् ।
नेत्री सु की सन् १९७३ मा आफ्ना श्रीमानले अनुसन्धान गर्न आएका बखत नेपालमा बसेकी थिइन् । नेपालकी अनगारिका धम्मावती गुरुमा सु कीकी बौद्ध गुरुआमा हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले नेपालको कक्षा ९ को सामाजिक विषयमा नेत्री सु कीको व्यक्तित्व उल्लेख भएको पाठ्यपुस्तकसमेत उपलब्ध गराएका थिए ।
दुई मुलुकबीच सन् १९६० मार्च १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सन् २०१४ मा बिम्स्टेकको तेस्रो शिखर सम्मेलनका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले म्यान्मारको औपचारिक भ्रमण गरेका थिए ।
त्यस अघि त्यहाँका प्रधानमन्त्री उ सेन विङले नेपालका राजा वीरेन्द्रको राज्यारोहणका समयमा सन् १९७५ (विसं २०३१)मा नेपालको भ्रमण गरेका थिए । सन् १९८० मा तत्कालीन राजा वीरेन्द्रले म्यान्मारको औपचारिक भ्रमण गरेका थिए ।
रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: