Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राजधानीमा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने

काठमाडौँ, मङ्सिर १४ । नाटकका माध्यमबाट विश्वलाई जोड्ने उद्देश्यका साथ आगामी फागुन १३ देखि २० गतेसम्म काठमाडौँका आठ रङ्गमञ्चका सहकार्यमा ‘नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव २०७५’ हुने भएको छ ।

सामाजिक सद्भाव तथा नाट्य संस्कृति र पर्यटनको विकासका लागि अन्तरराष्ट्रिय नाटक मेलाको आयोजना गर्न लागिएको महोत्सवका निर्देशक राजन खतिवडाले बताए । “सबै रङ्गकर्मीको साझा विचारलाई आत्मसात् गर्दै नाट्य मेलाको परिकल्पना गरिएको हो”, खतिवडाले भने, “नाटकबाट नाट्यकर्मीको क्षमता आदानप्रदानको आशा राखिएको छ ।”

नाटक प्रदर्शनीका लागि काठमाडौँका सक्रिय थिएटर मण्डला थिएटर नेपाल, शिल्पी थिएटर, सर्वनाम थिएटर, कथाघेरा, थिएटर मल, एक्टर्स स्टुडियो, वन वल्र्ड थिएटर र थिएटर भिलेजले सहकार्य गर्दैछन् ।
आयोजकमध्ये काठमाडौँभित्रका पाँच संस्थाले कलाकारको श्रम तथा लगानीमा नाटकघरको निर्माण गरी दश वर्षदेखि नियमित रुपमा नाटक मञ्चन गर्दै आएका छन् । आठदिने प्रदर्शनीमा पाँच नाट्यघरमा २८ नाटक मञ्चन गरिने महोत्सवका सहनिर्देशक देव न्यौपानेले बताए ।

प्रदर्शनीका लागि छानिएका नाटकलाई जनही रु एक लाख वितरण गरिने बताइएको छ । नाटकमा २० वटासम्म नेपाली र १२ वटासम्म विदेशी नाटकलाई सहभागी गराइने आयोजकले जनाएको छ । महोत्सवमा आफ्नो नाटकलाई संलग्न गराउन सहभागीले यही मङ्सिर १४ देखि १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

महोत्सवमा विभिन्न पुरस्कार वितरण पनि गरिने आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन नेपाली नाट्य जगत्मा विशिष्ट योगदान पुऱ्याउने छ रङ्गकर्मी –निर्देशकलाई सम्मान गरिनेछ । त्यस्तै नेपाली नाटकका क्षेत्रमा काम गर्न चाहने दुई रङ्गकर्मी र दुई अनुसन्धातालाई निर्माण अथवा अनुसन्धानका लागि प्रोत्साहनस्वरुप जनही रु एक लाख प्रदान गरिनेछ । पुरस्कारका लागि इच्छुकले मङ्सिर १४ देखि फागुन ३ गतेसम्म आफ्नो मौलिक योजनासहित आवेदन दिन सक्नेछन् ।
साथै महोत्सवको संरक्षक सल्लाहकारको निर्णयबाट आवेदकलाई महोत्सवको अन्तिम दिन ‘युनिक आइडिया इनोभेशन अवार्ड’ प्रदान गरिनेछ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: