फास्टट्रयाकमा नेपाली सेनाले लियाे यस्ताे अडान

काठमाडौं, मंसिर १४ । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको प्रवेशविन्दु खोकना नै हुनुपर्ने जनाएको छ ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिको बैठकमा ‘फास्टट्रयाक’ सडक आयोजनाको प्रगतिबारे जानकारी दिँदै सेनाले प्रवेशविन्दु खोकना हुनुपर्ने कारणसहित अडान लिएको हो ।

सेनाले प्रवेशविन्दु फर्सीडोल हुँदा द्रुतमार्गको सारभूत पक्ष नै खन्डित हुने, मध्यसहरसम्म आउन बढी समय लाग्ने जनाएको छ ।

नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख उपरथी योगेन्द्र खाँणले द्रुतमार्गको प्रवेशविन्दु खोकना बनाउँदा निमार्णाधीन सुक्खा बन्दरगाह खोकनानजिकै रहेकाले थप ‘कनेक्टिभिटी’का लागि निर्माण गर्न नपर्ने र ढुवानी पनि सहज हुने बताए ।

यस्तै, उपलब्ध लिंक रोडहरुका कारण सहज आवागमन हुने, पूर्वस्वीकृत रेखांकनअनुसार निर्माण गर्नसकिने पनि उनले बताए ।

खोकना क्षेत्रमा ५१ प्रतिशत जग्गाको मुआब्जासमेत वितरण भइसकेको र बाँकी ४९ प्रतिशत क्षेत्रफल अधिग्रहणका लागि पूरानै मूल्याकंनअनुसार हुने उनले बताए ।

तर, फर्सीडोलमा भने पूरै प्रक्रिया फेरि सुरु गर्दा जग्गा र संरचनाको मुआब्जा धेरै दिनुपर्ने उनको भनाइ थियो ।

द्रुतमार्गको खोकनादेखि बुंगमतीसम्मको ५.७ किलोमिटर खन्डमा प्रवेशविन्दुका विषयमा विवाद देखिएपछि सेनाले समितिमा प्रस्टीकरण दिएको हो ।

सेनाले अहिलेकै अवस्थामा फास्टट्रयाक निर्माणको वातावरण बनाइदिन राजनीतिक तथा प्रशासनिक तहका उच्च नेतृत्वलाईसमेत आग्रह गरेको छ ।

सेनाले पहिलो वर्षको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ९५ प्रतिशत भएको पनि जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्