दिगो विकास र शान्तिका लागि सहकार्यः सुकी

काठमाडौं, मंसिर १५ । म्यान्माका स्टेट काउन्सिलर आङसान सु कीले विश्वमा दिगो विकास र शान्ति स्थापनाका लागि सहकार्यमा जोड दिएकी छन् । शनिबारखि काठमाडौं सुरु भएको ‘एसिया प्रशान्त शिखर सम्मेलन–२०१८’ लाई सम्बोधन गर्दै उनले हरेक चुनौतीलाई अवसरका रुपमा लिई सकारात्मक सोचका साथ त्यसको सामना गर्न सक्नुपर्ने बताएकी हुन् ।

दिगो विकास, समृद्धि र शान्ति सँगसँगै स्थापित हुनुपर्ने बताउँदै उनले पारस्परिक समृद्धि, सहकार्य र मानवीयतालाई प्राथमिकता दिएर मात्रै गरीबी, अशिक्षाजस्ता एशिया प्रशान्त क्षेत्रका साझा समस्याको समाधान गर्न सकिने उल्लेख गरिन् ।

सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतीय जनता पार्टीका नेता विजय जोलीलगायतले पनि सम्बोधन गरेका थिए । नेता जोलीले आफूले हरेक पटक नेपाल भ्रमणमा आउँदा भ्रातृत्वको सन्देश पाउने उल्लेख गर्दै भारत विश्वव्यापी शान्ति र विकासका लागि सहकार्य गर्न तयार रहेको बताए ।

आयोजक संस्था युनिभर्सल पिस फेडेरेशन (युपिएफ) अन्तर्राष्ट्रिय अध्यक्ष डा. थोमस जी वास्लले स्वागत गर्दै सम्मेलनले दिगो विकासका लक्ष्य र शान्ति तथा सहकार्यका लागि सन्देश दिने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै सम्मेलन सुरु भएको थियो । सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुना सहभागी हुनुहुन्छ । यस प्रकारको सम्मेलन नेपालमा पहिलोपटक भएको हो । -रासस

कमेन्ट गर्नुहोस्