रविले आइडलको उपाधि जित्ने सम्भावना बलियो भन्दै, अरुको अवस्था के ?

काठमाडौं , मंसिर १५ । जारी ‘नेपाल आइडल सिजन–२’ को यात्रा रोचक मोडमा पुगेको छ । रोचक यो अर्थमा कि अब आइडलमा ‘टप फाइभ’ मात्र बाँकी प्रतिस्पर्धी छन् । आइडलको शिखरमा को पुग्ला ? यो प्रश्न धेरैको मनमा उब्जिएको हुनसक्छ ।

पाँच मध्ये जो पनि आइडलको उपाधि जित्न सक्छ । अब सबै जिम्मा दर्शक–स्रोताको हातमा भएकाले यसैभन्न गाह्रो छ । तर, केही आँकलन भने गर्न सकिन्छ । पाँचै प्रतिस्पर्धीको प्रस्तुती उत्कृष्ट छ । उनीहरु दर्शकको मन जित्दै यो स्थानमा पुग्न सफल भएका छन् । आइडलको उपाधि जितेर आफ्नो र आफ्ना समर्थकको सपना कसले पूरा गर्ला ?

पक्कै पनि रवि ओड, विक्रम बराल, सुमित पाठक, अमित बराल र अस्मिता अधिकारी मध्ये एकजनाले आफ्नो र समर्थकको सपना पूरा गर्ने छन् ।

रवि वड– रविका समर्थक दिनप्रतिदिन थपिदै छन् । यसको उदाहरण उनले पाएको भोटले पनि बताउँछ । शुक्रबार मात्रै उनले सर्वाधिक भोट पाएका थिए । अहिलेसम्म  ‘डेन्जर जोन’ मा नपरेका रवि उपाधि जित्न सक्ने मध्येका प्रवल दाबेदार हुन् ।

उनलाई देशविदेशबाट ठूलो संख्यामा भोट आइरहेको छ ।  रविका लागि कयौं समर्थक अहोरात्र खटिरहेका छन् । सामाजिक सञ्जालको सक्दो सदुपयोग गर्दै रविलाई नै आइडल बनाउन उनका प्रशंसक खटिएको देख्दा उनी नै यो पटकको आइडल बन्न सक्छन् भन्ने अनुमान गर्न सकिन्छ ।

सुदूरपश्चिमको कञ्चनपुरका रवि धनगढी अडिसनबाट आइडलमा सहभागिता जनाएका थिए । उनी सुदूरपश्चिमबाट आइडलमा बाँकी रहेका एक मात्र प्रतिस्पर्धी रहेकाले रविलाई त्यहाँबाट अत्यधिक भोट आइरहेको छ । यसकारण पनि रवि नेपाल आइडल बन्ने सम्भावना बढेर आएको छ ।

बिक्रम बरालः बिक्रम अन्य प्रतिस्पर्धीभन्दा परिपक्व पनि हुन् । उनले आइडलमा आउनुअघि पनि थुप्रै स्टेज तताइसकेका छन् । आइडलमा पनि बिक्रमले सबैको मन जित्न सफल भएका छन् ।

उनको दमदार प्रस्तुतीकै कारण ‘चलचित्रमा’ गीत गाउने अवसर पनि पाइसकेका छन् । साथै, बिक्रम ‘गोल्डेन माइक’ विजेता पनि हुन् । आइडलको निर्णायकको मुख्य रोजाइमा रहेका बिक्रमप्रतिको स्रोतादर्शकको अत्यधिक साथले उनले नै आइडलको उपाधि जित्न सक्ने अनुमान गर्न सकिन्छ । बिक्रम पोखरा अडिसनबाट आइडलमा भाग लिएका थिए ।

सुमित पाठकः सुमित पनि बिक्रिम जस्तै ‘गोल्डन माइक’ विजेता हुन् । त्यसकारण पनि आइडल आयोजकको नजर उनमा पनि केन्द्रित छ । तर, आयोजक वा निर्णायकको मात्र नजर भएर पुग्दैन । दर्शकस्रोताको साथ अर्थात् अत्यधिक भोट पाउनु आवश्यक छ ।

सुमितले यसअघिका अंकमा उत्कृष्ट प्रस्तुती दिदै आएका भए पनि पछिल्लो दिनमा केही कमजोर देखिएका छन् । यसको उदाहरण शुक्रबार उनी ‘बटम थ्री’ मा पर्नु पनि हो । कम भोटकै आधारमा ‘बटम थ्री’ मा पर्ने गरिन्छ । यसको अर्थ सुमितले ‘उत्कृष्ट प्रस्तुती’ दिन सकेनन् कि भन्ने पनि अनुमान गर्न सकियो । उनले काठमाडौं अडिसनबाट आइडलमा भाग लिएका थिए ।

अस्मिता अधिकारीः अस्मिता आइडलमा उत्कृष्ट प्रस्तुती दिदै यहाँसम्म आएकी छन् । नेपाल आइडलको उपाधिकी दाबेदार मानिएकी अस्मिताको प्रस्तुती झन् दमदार हुँदै गएको छ । आइडलमा एक मात्र महिला प्रतिस्पर्धी बाँकी रहेकाले उनको यात्रा शिखरमा पुग्नसक्छ ।

उनी महिला भएर मात्रै होइन अस्मितामा भएको क्षमताको कारण उपाधि जित्नसक्ने सम्भावना पनि प्रवल छ । उनका समर्थकले पनि अस्मितालाइ नै उपाधि दिलाउन सामाजिक सञ्जालका भित्ता व्यापाक रंगाइ रहेका छन् ।

अमित बरालः अमितले उत्कृष्ट प्रस्तुती दिदै आएका छन् । यद्यपि शुक्रबारको उनको प्रस्तुती अलि कमजोर रह्यो । यसको मूल्यांकन आइडलका निर्णायकले पनि गरेका थिए । यसको परिणाम उनी ‘बट थ्री’ मा पनि परे । आगामी दिनमा दमदार प्रस्तुती दिन सके अमितले आइडलको उपाधि नजिल्लान् भन्न सकिन्न । -लोकेश धामी

कमेन्ट गर्नुहोस्