महिला आत्मनिर्भर नभएसम्म समृद्धि असम्भबः खानेपानी मन्त्री मगर

कञ्चनपुर, मंसिर १५ । खानेपानी मन्त्री बिना मगरले महिलाहरूलाई सक्षम, सबल र आत्मनिर्भर नबनाउदासम्म देशको समृद्धि हुन नसक्ने बताएकी छन्।

व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रले कञ्चनपुरको बेलौरी नगरपालिकामा शनिबार आयोजना गरेको प्राकृतिक वनस्पतिबाट बन्ने हस्तकलाका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिम कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मगरले महिलालाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव हुने बताइन् ।

उनले महिलाहरुलाई सिकाइने सीप र कलाले घरेलु उत्पादनमा टेवा पुग्ने भएकाले देशको विकासमा समेत योगदान हुने बताइन् ।

उनले भनिन्, “यस क्षेत्रका महिलाहरु आर्थिक रूपमा कमजोर छन् । मजदुरी गर्न छिमेकी देश भारत जानू पर्ने बाध्यता छ । यसको विकल्पमा यस किसिमको तालिमले महिलाहरुलाई घरमै बसी बसी आत्मनिर्भर बनाउछ । ”

कार्यक्रममा महिला उद्यमी महासंघकी संयोजक देबिका बुढाथोकीले नेपालमा घरेलु तथा हस्तकलाको क्षेत्रमा धेरै अवसरहरु रहेको बताउँदै यसको उत्पादनमा जोड दिनु पर्ने आवश्यकता रहेको बताइन् ।

व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले महिलाहरुको सीप विकास तालिम को लागि केन्द्रको तर्फबाट सधैं सहयोग जारी राख्ने बताए।

कञ्चनपुरमा रहेका करिब सय वटा प्रगतिशील महिला समुहका हजारौं महिलाहरु लाभान्वित हुने गरि आयोजना गरिएको तालिमको सह आयोजक प्रज्ञा स्मृति प्रतिष्ठान रहेको छ । १५ दिन सम्म संचालन हुने तालिमको समन्वय महिला उद्यमी महासंघले गरेको छ ।

कमेन्ट गर्नुहोस्