खानेपानी सचिवको ठोकुवा– ढुक्क हुनुस् २ महिनामा मेलम्चीको पानी आउँछ

काठमाडौं, मंसिर १६ । काठमाडौंबासीले मेलम्चीको पानी केहिले पिउन पाउँलान् ? यो प्रश्न वर्षौदेखि सुनिदै आएको छ । तर, ठ्याक्कै प्रश्नको जवाफ भेटाउन सकिएको छैन ।

तर, अब भने मेलम्चीको पानी नभेटिए पनि जवाफ भने कडा भेटिएको छ । विगतमा पनि आश्वासन त भेटिए तर कडा आश्वासनको खासै अनुभूति भएन । यसपाली भने खानेपानी मन्त्रालयका सचिवले ठोकुवाका साथ जवाफ दिएका छन् ।

आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिन अर्थात् दुई महिनामा मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने दावी गरे । उनले भने, ‘म ठोकुवा गरेर भन्छु ६० दिनमा मेलम्चीको सबै काम सकिन्छ । ढुक्क हुनुस् २ महिनामा मेलम्चीको पानी आउँछ ।’

सचिव ठाकुरले विगतमा कर्मचारीले काममा ढिलाइ गर्दा मेलम्चीको पानी समयमा आउन नसकेको बताए । उनकाअनुसार आयोजनाको निर्माणको काम सकिएपछि पानी जम्मा हुन ३ दिन लाग्ने र त्यसपछि काठमाडौंमा पानी ल्याउन सकिने छ । सचिव ठाकुरले भने, ‘हामीलाई प्रेसर छ, तर हामी काम गर्छौं ।’

कमेन्ट गर्नुहोस्