प्रहरी प्रवक्ता भन्छन्, ‘पाहुनामा गलत सन्देश नजाओस् भनेर निर्मलाका तस्बीर हटाइएको हो’

काठमाडौं, मंसिर १६ । बलात्कारपछि हत्या भएको लामो समय हुँदा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तका दोषी पक्राउ पर्न सकेका छैनन् । अहिलसम्म पनि निर्मलाका हत्यारा पक्राउ नपर्दा नागरिकमा सरकारप्रति आक्रोशकाे आगाे दन्किरहेको छ । तर, सरकार भने अनुसन्धान हुँदैछ भन्दै आश्वासन दिइरहेकै छ ।

निर्मलाका हत्यारा पक्राउ गर्न ढिलाई गरिरहेको भन्दै नागरिकले सडक तताइरहेकै छन् । उनको न्यायका लागि कयौं सर्वसाधारणले सडक तथा विभिन्न ठाउँमा निर्मलाको तस्बिर अंकित पोस्टर टाँसिररहेका छन् ।

केही व्यक्ति त निर्मलाको तस्बिर सडकमा टाँसिएको भन्दै पक्राउसमेत परेका छन् । प्रहरीले सडकमा टाँसिएका निर्मलाको तस्बिर अंकित पोस्टर च्यातिरहेको छ । नागरिकले टाँस्ने प्रहरीले च्यात्ने कार्य केहीदिन यता बढेको देखिन्छ । सामाजिक सञ्जालमा धेरैले नेपाल प्रहरीलाई प्रश्न पनि गरेका छन्- व्यापारिक विज्ञापन सडकमा टाँस्न पाउने, निर्मलाको पोस्टर टाँस्दा किन टाउको दुखाई ?

अहिलेसम्म प्रहरीले यसको जवाफ दिन सकेको छैन । तर, आइतबार नेपाल प्रहरीका प्रवक्ताले यस विषयमा हास्यास्पद जवाफ दिएका छन् । ति प्रवक्ताले भनेका छन्, ‘विभिन्न देशबाट आएका पाहुनामा गलत सन्देश नजाओस् भनेर सडकमा टाँसिएका निर्मला पन्तको तस्बीर अंकित पोस्टरहरु हटाएको हो ।’ यस्तो जवाफ दिने प्रहरी प्रवक्ता हुन्- उत्तम राज सुवेदी ।

उनले ‘भीभीआइपी मुभमेन्ट’ हुने ठाउँका मात्रै पोस्टर निकालेको र अन्य ठाउँमा भने प्रहरीले कुनै पनि हस्तक्षेप नगरेको दाबी गरे । तर, सामाजिक सञ्जालमा भने सामान्य सडकमा टाँसिएका तस्बिरसमेत प्रहरीले च्यातेको दृश्य देखिन्छन् ।

अहिले विभिन्न देशका पाहुना काठमाडौंमा रहेका र यस्तो बेला विरोध गर्ने, जथाभावी पर्चा पम्लेट टाँस्ने गर्दा नेपालको छवि धुमिल हुने भएकाले केही ठाउँमा हस्तक्षेप गर्नु परेको प्रहरी प्रवक्ता सुवेदीले बताए ।

उनले विरोध गर्न पाउने सबैको संवैधानिक हक भए पनि सडक नै जाम गरेर प्रदर्शन गर्ने र पर्चा पम्लेट टाँस्दा विदेशी पाहुनाको अगाडि अशोभनीय देखिने भएकाले मात्रै प्रहरीले अवरोध गरेको बताए ।

आफूहरुले पोस्टर टाँस्नेलाई पक्राउ गरेको नभई विरोधको नाममा सडक अवरुद्ध गर्नेहरुलाई पक्राउ गरिएको पनि प्रहरी प्रवक्ता सुवदीले बताए । नेपाल प्रहरी अपराध नियन्त्रणमा अब्बल रहेको भन्दै उनले केही घटनामा मात्रै कमजोरी देखिएको दाबी गरे।

कमेन्ट गर्नुहोस्