बर्खास्त विष्ट र इन्सपेक्टर भट्टले पुनर्बहालीको माग गर्दै निवेदन दिए

काठमाडौं, मंसिर १६ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा चरम लापरबाही गरेको प्रहरीको सेवाबाट हटाइएका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टले पुनर्वाहलीको माग गर्दै मन्त्रिपरिषदमा निवदेन दिएका छन्।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते उनीहरूलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए। गृह मन्त्रालयले कात्तिक ८ गते कञ्चनपुरका तत्कालीन एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबा हटाएको थियो। आफूहरुमा अन्याय भएको भन्दै उनीहरु दुवैजनाले त्यसबेलै कानुनी उपचार खोज्ने बताएका थिए ।

हटाएको ३५ दिनभित्र पुनर्बहालीको लागि मन्त्रिपरिषदमा निवेदन दिनुपर्ने प्रावधान अनुसार दुवैजनाले निवेदन दिएको स्रोतले जानकारी दिएको छ ।

‘गत आइतबार प्रहरी निरीक्षक भट्ट र मंगलबार एसपी विष्टले निवेदन दिएका छन्,’ स्रोतले भन्यो, ‘उनीहरुको निवेदन उपर क्याबिनेटले छलफल गरेर निर्णय गर्छ। क्याविनेटको निर्णयमा चित्त नबुझे अदालत जाने बाटो समेत खुला हुन्छ।’ एसपी विष्ट र भट्ट दुवैले आफूहरुमाथि अन्याय भएको बताउँदै आएका छन्।

गत साउन १० गते बालिका पन्त साथी रोशनी बमको घरमा घरकी थिइन्। त्यसपछि वेपत्ता भएकी पन्तको भोलिपल्ट ११ गते उखुबारीमा शव भेटिएको थियो।

घटनाको अनुसन्धानमा प्रहरीले चरम लापरबाही गरेको भन्दै एसपी डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो। पछि एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई सेवाबाट समेत हटाइएको थियो।

त्यसैगरी निर्मला पन्त हत्या प्रकरणमा एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, महेन्द्रनगरका मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्ट, दिलिपसिहं विष्ट, चक्र बडुलगायत ९ जनाको डिएन परीक्षण भइसकेको छ। तर पनि घटनामा कुनै नयाँ क्लु फेला पर्न सकेको छैन। पन्तको न्यायको माग गर्दै भएको आन्दोलनमा एक जनाको प्रहरीको गोली लागेर मृत्यु समेत भएको थियो। तर पन्तको हत्यारा भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन। नेपाल लाइभ डट.कमबाट

कमेन्ट गर्नुहोस्