त्रिविले प्राइभेट परीक्षा हटाउने

काठमाडौं, मंसिर १७ । त्रिभुवन विश्वविद्यालयले प्राइभेट परीक्षाको व्यवस्था हटाउने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि नयाँ फाराम नलिएको र पुराना परीक्षार्थीलाई ब्याकपेपर परीक्षाको मात्र व्यवस्था सुचारु राखिएको जनाएका छन् ।

‘त्रिविले खुला तथा दूरशिक्षा सिकार्इ (ओडीएल) मा जाने तयारी गरेकाले गत वर्षदेखि प्राइभेट परीक्षा सुचारु गरेका छैनौँ,’ नियन्त्रक जोशीले भने, ‘त्यसनिम्ति कार्यविधि बन्न बाँकी छ। कार्यविधि बनेपछि अघि बढ्छौं।’

त्रिविले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा इतिहास, संस्कृति, राजनीतिशास्त्रलगायत विषयमा प्राइभेट परीक्षा दिने व्यवस्था गरेको थियो। विद्यार्थीले चाहेको विषय (प्राक्टिकल बाहेकका) मा परीक्षा नियन्त्रण कार्यालयमा तोकिएको शुल्क बुझाएर नियमित परीक्षार्थीसँगै जाँच दिन पाउँथे।

दुई वर्षे स्नातकोत्तर तहको अन्तिम वर्षको एक विषय शोधपत्र बुझाउन सक्ने व्यवस्थासमेत थियो। सरकारले खुला विश्वविद्यालय स्थापना गरिसकेको छ।

दुर्गममा रहेर उच्च शिक्षा हासिल गर्न चाहनेका निम्ति अनलाइनमार्फत् पढेर उच्च शिक्षा हासिल गर्नसक्ने उद्देश्यले खुला विश्वविद्यालय खोलिएको हो। त्यसैले पनि प्राइभेट परीक्षाको औचित्यमाथि प्रश्न उठेको जनाइएको छ। कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्