चार महिनाभित्र लगानीमैत्री कानून निर्माण हुन्छः मन्त्री अधिकारी

काठमाडौं, मंसिर १९ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले लगानीमैत्री वातावरण बनाउन सरकार क्रियाशील रहेको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्शले बुधबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–कोरिया आर्थिक सम्बन्धका आयामहरु’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले चार महीनाभित्र लगानीमैत्री कानून निर्माण गर्ने बताए ।

उनले भने, ‘लगानी भित्र्याउन कुन विषयमा बाधा छ, ती विषय तीन÷चार महीनामा हटाउँछौँ । नेपालमा हुन लागेको लगानी सम्मेलन अगावै सरकारले वैदेशिक लगानी भित्र्याउन आवश्यक पर्ने सम्पूर्ण कानून निर्माण गरिसक्छ ।’

नेपाल र कोरियाबीचको व्यापार सन्तुलन कायम गर्न निकै चुनौतीपूर्ण रहेको बताउँदै मन्त्री अधिकारीले व्यापार असन्तुलन न्यूनीकरण गर्न पर्यटन सशक्त क्षेत्र भएको र पर्यटनको माध्यमबाट व्यापार घाटा पूर्ति गर्न सकिने विश्वास व्यक्त गरे ।

बढीभन्दा बढी कोरियामा रहेका बौद्धमार्गीलाई नेपालको भ्रमण गराउन ‘बौद्ध परिपथ’ लाई प्रभावकारी बनाउनु आवश्यक भएको बताउँदै उनले अब छिट्टै नेपाल एयरलाइन्सले काठमाडौँबाट कोरिया सिधा उडान भर्ने जानकारी दिए ।

नेपालका लागि कोरियाली राजदूत पार्क योग सिकले नेपालमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगमा लगानीको सम्भावना भए पनि लगानीको लागि आवश्यक कानून पर्याप्त नभएको बताए । रासस

कमेन्ट गर्नुहोस्