अन्ततः मेयर रेणुको जीत, अब सिटी हल भरतपुर–१० मैं बन्ने

चितवन, मंसिर २० । सिटी हल बनाउने विषयमा लामो समयदेखि चलिरहेको विवाद टुंगिएको छ । भरतपुर महानगरपालिकाले अन्ततः भरतपुर– १० स्थित जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको ४ बिघा ४ कट्ठा जग्गामा सिटिहल बनाउने भएको छ । हाल जिसस प्रमुख बसेको क्वाटर क्षेत्रदेखि पूर्वतर्फ वाइ रोड सडकसम्मको भाग समेटेर सिटिहल बनाउन लागिएको जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए । आवश्यक जग्गा महानगरलाई दिने भनी निर्णयार्थ संघीय मामिला मन्त्रालयमा पठाइसकेको उनले बताए ।

जिसस प्रमुख, महानगरका मेयर, प्रमुख जिल्ला अधिकारी, कोलनीका प्रमुखको बैठकले जग्गा हस्तान्तरण र सिटिहल निर्माण विषयमा निर्णय गरेका हुन् । ‘मेरो क्वाटर भत्काएर भए पनि सिटिहल बनाउने बोल्ड निर्णय गरेका छौँ, डल्लाकोटीले भने ।

यसअघि गेस्टहाउस चौरमा सिटिहल बनाउने सहमति दलहरूले गरे पनि जनदबाब पछि उक्त निर्णयबाट सरोकारवाला निकायपछि हटेका थिए । भरतपुर महानगरले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा सिटिहल बनाउने निर्णय गरेकोमा कांग्रेसले विरोध गरेपछि पछि हटेको थियो ।

सिटिहल अब पक्का बन्छ: मेयर
५ हजार मानिस अट्ने सिटिहल बनाउने प्रयासमा महानगर निरन्तर लागिरहेको छ । ‘नयाँ तोकिएको ठाउँमा कोही कसैको विवाद छैन, ढुक्क हुनुहोस् अब सिटिहल छिट्टै बन्छ,’ भरतपुर महानगरकी मेयर रेणु दाहालले भनिन्, ‘यो नै अन्तिम निर्णय हो ।’

सहरी कोलाहलबाट टाढा, विकास विकेन्द्रीकरण, खुला र दीर्घकालीन हुने लक्ष्यसाथ आफूले भरतपुर सहरबाट केही पर सिटिहल बनाउने योजनाअघि सारे पनि त्यो सफल नहुँदा खिन्नता महसुस भएको मेयर दाहालले बताइन् । ‘बजेट आएको ६ महिना भइसकेको छ । यसपटक पनि सिटिहल नबने ५१ करोड रुपैयाँ फिर्ता हुनेछ । एउटा सुविधा सम्पन्न सिटिहल चितवनमा आवश्यक छ । त्यो भरतपुर महानगरले बनाउँछ,’ दाहालले भनिन् ।

४ बिघा ४ कट्ठा क्षेत्रफल रहेको उक्त स्थानमा सुविधायुक्त सिटिहल बन्ने जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए । गेस्टहाउस चौरमा भने पार्क बनाउनेबारे छलफल भइरहेको समेत उनले बताए । जिससको स्वामित्वमा रहेको जग्गामा अनुमति नलिई बनेका अन्य भौतिक संरचना भत्काइने पनि उनले जनाए । नेकपाका नेता तेजेन्द्र खड्काले विभिन्न क्षेत्रमा विकल्प खोज्दा पनि नभेटेपछि बाध्य भएर जिससको जग्गा रोज्नुपरेको बताए ।

कमेन्ट गर्नुहोस्