ढाँटेर जागिर खाने पाँच दर्जन कर्मचारीबाट २ करोड असुली, पेन्सन पट्टा रोक्का

काठमाडौं, मंसिर २१ । निजामती किताबखानाले झुक्याएर जागिर खाने पाँच दर्जन कर्मचारीबाट २ करोडभन्दा बढी रकम असुल्ने निर्णय गरेको छ । रकम असुल उपर नहुँदासम्म ती सबै कर्मचारीको पेन्सन पट्टा रोक्ने निर्णयसमेत किताबखानाले गरेको छ ।

गत आर्थिक वर्ष २०७४÷७५ र चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको अवधिमा पाँच दर्जन बढी कर्मचारी कारबाहीमा परेको किताबखानाले जानकारी दिएको छ । कारबाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि सहसचिवस्तरका कर्मचारी छन् ।

किताबखानाका अनुसार पहुँच र शक्तिका भरमा तथा सरकारलाई ढाँटेर जागिर खानेहरूमाथि कारबाही थालिएको हो । यसअघि किताबखानाले कडाइ नगर्दा कतिपय कर्मचारीले सेवानिवृत्त भएको सात वर्षसम्म पनि जागिर खाइरहेको पाइएको छ ।

तर, अहिले किताबखानाले विशेष निगरानी गर्दै खोजतलासलाई व्यापक पार्न थालेपछि बढी अवधि जागिर खाएका कर्मचारीहरू धमाधम कारबाहीमा पर्न थालेका हुन् ।

किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले उमेर सकिएपछि पनि जागिर खाने कर्मचारीबाट करोडौं रुपैयाँ असुल गर्ने निर्णय भएको जानकारी दिए ।

प्रवक्ता पराजुलीले रकम असुल नहुँदासम्म सबै कर्मचारीको पेन्सन पट्टा रोक्ने निर्णयसमेत गरिएको बताए । किताबखानाले उनीहरूमाथि थप छानबिन थालिएको जनाएको छ ।

जागिर अवधि सकिएपछि पनि उनीहरूले लिएको थप तलब, सुविधा तथा भत्ता बापतको सबै रकम जफत गर्ने निर्णय भएको किताबखानाका प्रवक्ता पराजुलीले जानकारी दिए ।

पेन्सन पट्टा रोक्का भएका कर्मचारीले अब सबै रकम राज्यकोषमा दाखिला गर्नुपर्छ । दाखिला नगरे उनीहरूको पेन्सन पट्टा नबन्ने र पेन्सन नपाउने पराजुलीले जानकारी दिए । राजधानी दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्