चितामा राखेको शवसहित मलामी पक्राउ

स्याङजा, मंसिर २१ । १९ वर्षीय तिलबहादुर थापाको मृत्यु शंकास्पद भएपछि जलाउनको लागि चितामा राखिएको शवसहित मलामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबारसेतीवेणीस्थित कालीगण्डकी किनारमा जलाउन तयारी अवस्थामा राखिएको शवसँगै प्रहरीले मलामी गएका चारजनालाई पनि नियन्त्रणमा लिइएको हो।

गल्याङ नगरपालिका–६ का तिलबहादुरको शिकार खेल्न जाने क्रममा मंगलबार बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले बताए। ‘थापाको मृत्यु कसरी भयो भन्ने बारेमा कोही बोल्न चाहेनन्,’ उनले भने, ‘स्कूलबाट घरमा फर्किने क्रममा जंगलमा चिप्लिएर लडेर मृत्यु भएको भने। शव हेर्दा शंका लाग्यो र घटना अनुसन्धान गर्‍यौ।’

प्रहरीको अनुसन्धानले शिकार खेल्न जाने क्रममा भरुवा बन्दुक पड्कदा उनी घाइते भएका थिए। उपचारको क्रममा गल्याङतर्फ लैजादा बाटोमा नै मृत्यु भएको एसपी लम्सालले बताए। शिकार खेल्नको लागि लगेको एकनाले एकवटा भरुवा बन्दुकसहित शिकार खेल्नप्रयोग भएकोलु १ च २५६१ नम्बरको जीप प्रहरीले नियन्त्रणमा लिएको लम्सालले बताए।

उनीहरु जीपमाथी बसेर जंगलको यात्रा गर्ने क्रममा रोमबहादुर रानाले बोकेको भरुवा बन्दुक अचानक फायर भएको उनले बताए। प्रहरीले गल्याङ–६ का जीप चालक २८ वर्षीय कृष्णबहादुर रखाली, जीप साहु ३४ वर्षीय डिमबहादुर थापा, ३४ वर्षीय छकबहादुर थापा र ३० वर्षीय रोमबहादुर रानालाई पक्राउ गरी बिहीबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको एसपी लम्सालले बताए। कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्