बाजागाजासहित रविलाई धनगढीमा भव्य स्वागत

काठमाडौं, मंसिर २२ । नेपाल आइडल सिजन–२ को टप ४ मा पुग्न सफल रवि ओडलाई कैलालीकाे धनगढीमा भव्य स्वागत गरिएको छ । उनलाई आज बिहान धनगढीमा विमानस्थलमा समर्थकले भव्य स्वागत गरेका हुन् ।  बाजागाजासहित रविलाई धनगढी विमानस्थलमा स्वागत गरिएको छ ।

यस्तै अाज उनलाई धनगढी नगरपरिक्रमा गरिने बताइएको छ । साथै, रविले जिल्लाका विभिन्न स्थानमा हुने सांगीतिक कार्यक्रममा पनि सहभागिता जनाउने छन् । विमानस्थलमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै रविले यो स्थानसम्म साथ दिने सबै समर्थकलाई धन्यवाद व्यक्त गरे ।

यस्तै, हिजो (शुक्रबार) भोट गर्दा अमितको नाममा आएको सन्देशबारे रविले भने, ‘त्यो प्राविधिक समस्याका कारण त्यस्तो भएको हो । भोट मेरै नाममा गएको हो । १० नम्बर कोडमा गएपछि अरुलाई जाँदैन, त्यो भोट मेरै नाममा जान्छ । यसमा शंका मान्नु पर्दैन । यो विषयमा न एपी वानको गल्ति हो नत आइडलको नै ।’

अहिलेसम्म दर्शक–स्रोताले दिएको साथको उनले खुलेर प्रशंसा गरे । उनले भने, ‘दर्शक–स्रोताको यो हौसला एवं मायाले असाध्यै खुसी छु । आगामी दिनमा पनि यही मायाको अपेक्षा गरेको छ । अब झन् बढी साथको खाँचो आवश्यक परेको छ । किनकी अब ग्रान्ड फिनाले आउँदै छ । सबैलाई यस्तै साथ दिन अनुरोध गर्दछु ।’

यस्तै, रविले आफू तीनदिनसम्म सुदूरपश्चिमै रहने बताए । यो तीनदिन समर्थकसँग भेटघाट र सांगीतिक कार्यक्रममा व्यस्त हुने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्