कस्ता कस्ता आरोप लगायो अख्तियारले पूर्व मन्त्री विक्रम पाण्डेमाथि?

काठमाडौँ, मङ्सिर २२। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रवार पूर्वमन्त्री समेत रहेका निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे सहित २१ जनाविरूद्र बाँके जिल्लाको सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

दायर मुद्दामा राप्रपा (प्रजातान्त्रिक) नेता समेत रहेका पाण्डेले २ अर्ब १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

अख्तियारले मुद्दा दायर गरेकाहरूमा हालका उक्त आयोजना प्रमुख र तीन जना पूर्व आयोजना प्रमुखहरू समेत छन्।

यी हुन् अख्तियारले पाण्डेमाथि लगाएका मुख्य अभियोग

-आयोजनाको मूल नहर भत्किनुमा डिजाइनदेखि नै त्रुटी पाइएको

-परीक्षणकै क्रममा नहर भत्कँदासमेत पुर्नपरीक्षण नगरिएको

-नहर निर्माणमा प्रयोग हुने माटोको गुणस्तर परीक्षण र त्यसको उपयुक्तता र विस्तृत आयोजना प्रतिवेदन बिनै गुणस्तर कायम राख्न आवश्यक व्यवस्थाहरू नगरी सम्झौता तयार पारिएको

-थुप्रै वर्षदेखि सतहमै देखिएको घुलनशील र गुणस्तरहीन माटोको पक्षलाई नजरअन्दाज गरिएको

-सम्झौता पत्रमा उल्लेख गरिएका थुप्रै परीक्षणहरू समेत नगरिएको

-५० घनमिटर पानी धान्ने भनिएको नहर त्यसको क्षमता देखाउन नसकी थुप्रैपटक भत्किएको

अभियोगको सामना गर्छु: पाण्डे

-सम्झौता अनुसार नै सरकारी पक्षसँग बसेर कामहरू भएको छ।

-नेपालमा उपलब्ध भएसम्मका सबैखाले जाँच गरिएका छन्।

-घुलनशील माटो भएका ठाउँमा नहर भत्कनुबाहेक अन्य कतै समस्या देखिएको छैन। संरचनाहरूमा कतै समस्या छैन। माटोको त्यस्तो जाँच गर्नुपर्ने कुरा हाम्रो सम्झौतामा थिएन र अन्यत्रबाट माटो ल्याउने कुरा पनि थिएन।

-जुन बाटोबाट नहर खन्न भनिएको थियो त्यहींबाट खनिएको छ। त्यहाँ घुलनशील माटो भएकोबारे त्यसअघि कसैलाई थाहा थिएन।

-जस्तो खालको माटो जाँचको कुरा उठाइएको छ, त्यस्तो अहिलेसम्म नेपालमा कतै गरिएको छैन।

-माटोको नहर भएकाले यो मर्मत गरिरहनुपर्छ। हामीले हस्तान्तरण गरेकै तीन वर्ष भइसकेको छ

बिबिसीबाट

कमेन्ट गर्नुहोस्