व्यवसायीका जायज काममा हस्तक्षेप हुँदैनः मन्त्री महासेठ

काठमाडौं, मंसिर २२ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घले ११औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको प्रभातफेरी कार्यक्रममा उनले व्यवसायीका काममा सरकारी हस्तक्षेप हुन नदिने बताए । देश बनाउने जिम्मेवारी निर्माण व्यवसायीकै हो भन्दै मन्त्री महासेठले पूर्ण शक्तिका साथ देश निर्माणमा जुट्न व्यवसायीलाई अनुरोध गरे ।

“विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमी कमजोरी भए होलान्, अब त्यस्ता कमी कमजोरी सच्यााएर अघि बढ्नुको विकल्प छैन” मन्त्री महासेठले भने । उनले २०५२ सालदेखि विभिन्न कारणले पूरा नभएका योजनाको म्याद थप गर्ने प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।

महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायलाई स्थापित पेशा बनाउन वर्तमान नेतृत्व क्रियाशील रहेको बताए । अहिलेको सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई साकार बनाउन महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले निर्माणमैत्री वातावरण अहिलेको आवश्यकता भएको बताए । महासङ्घका उपाध्यक्ष आङदोर्जी लामा (एडी) ले भौतिक पूर्वाधारको निर्माणबिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताए । रासस

कमेन्ट गर्नुहोस्