गृहमन्त्री बादलको घोषणा– सबै क्षेत्रको सिण्डिकेट चाँडै अन्त्य हुन्छ

काठमाडौं, मंसिर २२ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यातायात क्षेत्रको जस्तै अरु क्षेत्रको पनि आलोपालो प्रणाली (सिण्डिकेट) चाँडै अन्त्य गरिने बताएका छन् ।

नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गदै उनले आलोपालो प्रणालीले केहीलाई मात्र समृद्ध बनाउने भएकाले सबैलाई समृद्ध बनाउन चाँडै अन्य क्षेत्रको आलोपालो प्रणाली तोडिने बताएका हुन् । उनले भने, “व्यवसायीको समृद्धि र जनताको सुविधाका लागि आलोपालो प्रणालीको अन्त्य जरुरी रहेको थियो ।”

यातायात नै मुलुक निर्माणको एउटा आधार भएकाले त्यसलाई व्यवस्थित बनाइनेसमेत उनले जानकारी गराए । उनले आलोपालो प्रणालीको अन्त्य गरिए पनि केही कानूनी जटिलताले व्यवस्थित बनाउन नसकिएकाले चाँडै कानूनी जटिलता हटाई यातायातको विकास गरिने बताएयो ।

गृहमन्त्री थापाले मुलुकको चाँडो विकास गर्न ऊर्जा र यातायातका माध्यमबाट सम्भव रहेको धारणा राखे । “मुलुकमा समृद्ध मानिस र सुखी मानिस पनि नभएका होइनन् तर ती मानिस आलोपालो प्रणालीको कारण आफूमात्र समृद्ध र सुखी भएका छन्” उनले भने, “अब सबै नेपालीलाई समृद्ध र सुखी बनाउने अभियानमा सरकार लागेको छ ।” रासस

कमेन्ट गर्नुहोस्