सुशासन, विकास हुँदै समृद्धि हासिल गर्ने सरकारको लक्ष्य होः मन्त्री पुन

जनकपुरधाम, मंसिर २२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले मुलुक नयाँ युगमा प्रवेश गरेको अनुभूतिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं २ संसदीय दलद्वारा सोमबार जनकपुरधाममा आयोजित ‘वर्तमान अवस्थामा ऊर्जा र सिँचाइ विकासमा तीनै तहका सरकारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सङ्घीयताका आधारमा संरचनागत रूपान्तरण कार्य सम्पन्न भएपछि परिणामसमेत आउन शुरू हुने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले भने, “विविधता, भूगोल, बसोबासलाई दृष्टिगत गर्दै समन्वयात्मक ढङ्गले विद्यमान समस्याको समाधान गरी आम नागरिकलाई सुशासनको प्रत्याभूति गराउनु जरूरी छ ।”

“सुशासन, विकास हुँदै समृद्धि हासिल गर्ने सरकारको लक्ष्य हो”, उनले भने, “सुशासन, विकास र समृद्धिको यात्रामा अब कुनै बहाना हुँदैन, धैर्यतापूर्वक जिम्मेवार भई तीनै तहका सरकारले आ आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्दछ ।”

मन्त्री पुनले आगामी वर्षमा आर्थिक विकासको विकसित जगको परिकल्पना सरकारले राखेको स्पष्ट पार्दै गैर जिम्मेवार प्रवृत्तिको अन्त्यका लागि तीन वटै तहका सरकारको अग्रसरताको खाँचो रहेको बताए ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुनकोशी–कमला डाइभर्सन सिँचाइ परियोजनाको कार्यान्वयन, चुरेको संरक्षण र सङ्घीयताको अनुभूति गराउने कार्यलाई सङ्घीय सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । रासस

कमेन्ट गर्नुहोस्