इपिएलः भैरहवासँग पोखरा पराजित, सिंहले बनाए १२५ रन !

काठमाडौं, मंसिर २३ । शनिबारदेखि सुरु भएको एभेरेष्ट प्रिमियर लिग (इपिएल) को आइतबारको दोस्रो खेलमा भैरहवा ग्याडियर ४ विकेटले विजयी भएको छ । पोखरा राइनोजले दिएको दुई सय १६ रनको विशाल लक्ष्य भैरहवाले १९.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।

भैरहवाका लागि रविन्दर सिंहले शतकीय पारी खेले । उनले ६० बलको सामना गर्दै १० छक्का र ८ चौकाको मद्दतले एक सय २५ रनको योगदान गरे ।

भैरहवाका लागि अन्य ब्याट्सम्यान आरिफ शेखले २३ रन, पुनित मेहेराले १८ रन, प्रदीप ऐरीले १४ रनको योगदान गरे ।पोखराका लागि सुसन भारि , बिक्रम शोब र पौल कौलिनले समान २ र २ विकेट लिए ।

यसअघि टस जित्दै ब्याटिङ गरेको पोखराले पुरा ओभर खेल्दै ५ विकेटको क्षतिमा दुई सय १५ रनको योगफल तयार पारेको हो । पोखराका लागि ओपनर रिचर्ड लेभिले विस्फोट ब्याटिङ गरे । उनले ३९ बलको समान गर्दै ७ छक्का र ७ चौकाको मद्दतले ७९ रनको योगदान गरे ।

यस्तै कायल कोटजरले ४७, सुनिल धमालाले ३८ रनको योगदान गरे । भैरहवाका लागि अभिनाश बोहरा, कृष्ण कार्की, पुनित मेहेरा र रायन टेन्डेस्काटेले समान १ र १ विकेट लिए ।

कमेन्ट गर्नुहोस्