रोहित चन्द इन्डोनेसियाली लिगको उत्कृष्ट खेलाडी घोषित

काठमाडौं, मंसिर २३ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार रोहित चन्दको टोली पेरसिजा जकार्ताले आइतबार इन्डोनेसियाली शीर्ष डिभिजनको लिगमा उपाधि जित्दा उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

राष्ट्रिय टिमका बक्स टु बक्स मिडफिल्डर चन्दको टोलीले आइतबार लिगको अन्तिम खेलमा मित्रा कुकारमाथि २–१ को जित हासिल गर्दै निकटतम प्रतिद्वन्द्वी पिएसएम माकासारलाई एक अंकले पछि पारेको थियो ।

१८ टोली सहभागी लिगको अन्तिम (३४ औं) खेलमा पेरसिजालाई जित दिलाउन मार्को सिमिकले दुई गोल गरेका थिए । १७औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै खाता खोलेका सिमिकले ५९औं मिनेटमा अग्रता दोब्बर पारेका थिए ।

पराजित कुकारका लागि समय सकिन दुई मिनेट बाँकी रहँदा अल्डिनो हेर्डियान्टोले एक गोल फर्काए पनि पेरसिजाको उपाधि यात्रा रोक्न त्यो पर्याप्त भएन ।

अन्तिम खेलमा पाएको जितपछि पेरसिजाले ६२ अंकका साथ लिगको अन्त्य गरेको छ । ६१ अंकका साथ दोस्रो स्थानमा सीमित मासाकारले आइतबार पिएसएमएसमाथि ५–१ को फराकिलो जित हासिल गर्यो । तर पेरसिजाले पनि आफ्नो खेल जितेका कारण मासाकारको च्याम्पियन बन्ने लक्ष्य पूरा भएन ।

पूरा सिजनभर एकरुपको उत्कृष्ट प्रदर्शन गरेवापत उत्कृष्ट खेलाडी घोषित रोहित दक्षिण एसियाबाहिरको लिगमा व्यक्तिगत पुरस्कार जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

रोहितको टोलीसँग पराजित भएको कुकार १६औं स्थानमा सिमित हुँदै रेलिगेसनमा पर्यो । तीन टोली रेलिगेसनमा पर्ने प्रावधानअनुसार मित्रा कुकारसँगै श्रीविजया एफसी र पिएसएमएस पनि दोस्रो डिभिजनमा घटुवा भए ।

कुकार र श्रीविजयाको खातामा समान ३९ अंक थियो भने पिएसएमएस ३७ अंकमा सीमित भयो । ४२ अंक जोडेको पिएस टिरा १५औं स्थानमा रहँदै रेलिगेसन क्षेत्रसँग तीन अंकको अन्तर कायम गरेर शीर्ष डिभिजनको हैसियत जोगाउन सफल भयो । बाह्रखरीबाट

कमेन्ट गर्नुहोस्