प्रचण्डद्वारा साढे पाँच करोड लागतको पुलको शिलान्यास

पोखरा, मंसिर २४ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ लङ्काथर जोड्ने विजयपुर खोलामा निर्माणाधीन पुलको शिलान्यास गरेका छन् ।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएको स्थान सिक्लेसमा निर्मित शान्ति स्तम्भ उद्घाटन गर्न जाने क्रममा आज उनले सो पुलको शिलान्यास गरेका हुन्।

पुलको शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले पर्यटकीय गाउँ सिक्लेस जाने बाटो पक्की बनाउन आफूले पहल गर्ने बताए । सिक्लेससम्म जाने बाटो अझै पनि कच्ची नै भएको बताउँदै उनले शान्ति सम्झौतासँग जोडिएको सिक्लेस जाने पक्की बाटो निर्माण सम्पन्न गर्न नैतिक र व्यवहारिक रुपमा आफू लाग्ने बताए ।

काँहुखोला—दूधपोखरी ग्रामीण सडकअन्तर्गत विजयपुर खोलाको सिंढीको मुखमा निर्माणाधीन पुल ५४ दशमलब १७ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ ।

पुलको निर्माण २०७६ कात्तिक महीनाभित्र गरिसक्ने गरी सम्झौता भएको छ । पुल निर्माणको लागत पाँच करोड ६५ लाख एक हजार छ । पुलको ठेक्का रायमाझी काराभेन जेवी कन्ट्रक्सन काठमाडौँले लिएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनीयर आशिक रिजालले जानकारी दिए ।

मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले पुल निर्माणसँगै मादी गाउँपालिकाअन्तर्गत सिक्लेस, ताङ्तिङ, तपराङ, खिलाङ, थाक, छाचोक, थाम, लङ्काथर, काभ्रेडाडा मौजा र बयरघारीलगायत यस आसपासका तीन हजार घरपरिवारले सेवा प्राप्त गर्न सक्ने बताए ।

विस्तृत शान्ति सम्झौता हुनु अगाडि प्रचण्डलगायत तत्कालीन माओवादीका नेतालाई सिक्लेसबाट तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले हेलिकोप्टरमार्फत काठमाडौं लगेका थिए ।

शान्ति प्रक्रियाको थालनीस्थल सिक्लेसमा निर्मित शान्ति स्तम्भको आजै अध्यक्ष प्रचण्ड र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन गरे । रासस

कमेन्ट गर्नुहोस्