आईजीपि साप, बयान लिएको कुरा पनि मिडियाबाजी गर्नैपर्छ र ?

किन अत्तालियो अनुसन्धानमा अब्बल मानिएको नेपाल प्रहरी ?

एभरेष्ट टिप्प्णी । काठमाडौं, नेपाल प्रहरीका प्रमुख नेतृत्व सर्वेन्द्र खनालले हिजो कडा अभिव्यक्ति दिए– मैले अनुचित दबाब दिएको भए बर्दी फुकाल्न तयार छु ।

नेपाल प्रहरी भित्र कुशल व्यक्तित्व हुन सर्वेन्द्र खनाल । आफ्नो कार्यदक्षता र क्षमता उनले प्रष्टयाइसकेका छन् । विगतको लामो अनुभवमा उनले कैयन् मनछुने कामहरु समेत गरेका छन् । कैयनको मन जितेका छन र कतिपय थिति पनि बसालेका छन् ।

त्यसैले प्रहरी महानिरिक्षकको जिम्मेवारी सर्वेन्द्रले पाउँदा कतैबाट बिरोधको स्वर सुनिएन ।

एउटा आशा थियो, उनले अब नेपाल प्रहरीभित्र थिति बसाल्नेछन् ।

यता वामपन्थी सरकारले समद्धिको कुरा गरिरहेको थियो । उता खनालबाट जनताले यो समृद्धिमा सामाजिक न्याय जोडने भुमिका खोजेका थिए ।
नेपाल प्रहरीभित्रैबाट उनलाई सहयोग गर्ने या नगर्ने विषयमा शतप्रतिशत सकारात्मक वातावरण भने नभएको अनुभूति नभएको होइन । तर, कमाण्डमा चल्ने प्रहरीमा कसैको असहमतिले पनि उनको क्रेज र कमाण्ड कम गर्न सक्ने अवस्था थिएन ।

तर तिनै सर्वेन्द्र खनाल अहिले बर्दी फुकाल्न तयार रहेको अभिव्यक्ति दिन पुगेका छन् ?
निर्मला हत्याकाण्डमा सर्वेन्द्र खनालले अनुचित दबाब दिएको या अनुसन्धान प्रभावित गर्न खोेजेको जस्ता टिप्पणीहरु नचलेका होइनन । तर यो कुराका पछाडि व्यक्तिगत आग्रह पूर्वाग्रह बढी भएको चर्चा पनि नभएको होइन । तर एउटा सत्य के हो भने निर्मला हत्याकाण्डमा प्रहरीले जुन व्यावसायिक कुशलता र दक्षता देखाउनुपथ्र्यो, त्यो भने पक्कै भएन । हरेक पाइलामा प्रहरीबाट एकपछि अर्को गल्ती भयो ।
प्रहरीको नियतमा शंका गर्नेहरु पनि नभएका होइनन तर, नियतभन्दा पनि कार्यशैली, कार्यक्षमता र व्यवसायिक दक्षतामा भने प्रश्न उठाउने थुप्रै पक्ष रहेका छन् । र, यसको जिम्मेवारी खनालले लिनुपर्ने हुन्छ ।

चारवटा उदाहरण पर्याप्त छन् ।

(क) दिलिप विष्टलाई हतारमा सार्वजनिक गर्नुः

निर्मला हत्याकाण्डपछि कञ्चनपुरमा आन्दोलन चर्केको थियो । लासको सदगति समेत गर्न दिइएको थिएन । यही बीचमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोली जिल्ला परिचालन भएको थियो । आन्दोलन केही सामसुम भयो । प्रहरी संयन्त्रले अब आन्दोलन नहुने अनुमान गरेर नै होला, हतारमा, तयारी नगरिकन, पर्याप्त छलफल नगरिकन जिल्ला तहबाट दिलिप बिष्टलाई हत्याराका रुपमा सार्वजनिक गर्यो । यो अपरिपक्व र घातक कदम थियो । अनुसन्धानकै बीचमा बाहिरी जनदबाबमा आएर गरिएको यो निर्णयले देशभरि आगो बल्यो ।

यो बेला प्रहरी नेतृत्वको हिसाबले खनालले कमाण्ड लिन सक्नुपथ्र्यो । के भएको छ, अनुसन्धानले के देखाएको छ ? सार्वजनिक गर्ने अवस्था छ या छैन ? यो सार्वजनिक भएपछि बाह्य प्रतिक्रिया के होला ? अहिले नै दिलिपलाई सार्वजनिक गर्ने या नगर्ने ? थप अनुसन्धानको अवस्था के हुन सक्छ जस्ता विषयमा उनले गम्भीरतापूर्वक टीमभित्र छलफल गरेर निर्देशन दिनुपथ्र्यो । यो उनले गरेनन । तलबाट जे भइरहेको छ, ठीकै होला भन्नेमा उनी गए । यसको परिणाम एउटा काँचो प्रतिवेदन सार्वजनिक भयो । विश्वस्त हुने ठाउँ थिएन र आन्दोलन चर्कियो ।

२) हिंसात्मक आन्दोलनको सिर्जना

आन्दोलन चर्किँदै गएसँगै दिलिप विष्टको डिएनए नमिलेपछि उनी रिहा भए । सँगसँगै प्रहरीमाथि झन ठूलो दबाब पर्यो । आन्दोलन हिंसात्मक भइसकेको थियो । यो बेला तत्काल प्रहरी नेतृत्व परिवर्तन गर्नुपर्ने दबाब चर्को थियो । गृह मन्त्रालय र प्रहरी नेतृत्व भने ‘पर्ख र हेर’को रणनीतिमा थिए । यो ‘पर्ख र हेर’को अवस्थाले एकजना खुना थरका बालकको मृत्यु भयो ।

आन्दोलनको गम्भीरता हेरेर प्रहरी नेतृत्वले मातहतका निकायबाट तत्काल सूचना संकलन गरी कदम चालेको भए आन्दोलनमा बल प्रयोग हुने थिएन । हिंसा हुने थिएन । मृत्यु हुने थिएन ।

त्यो बेला गृह प्रशासन र प्रहरी प्रशासनबीच सघन समन्वय हुन सकेन । तल्लो तह र नेतृत्वबीचको च्यानलमा समन्वय हुन सकेन । जिल्ला, क्षेत्र र केन्द्रबीच तालेमेल भएर घटनालाई गम्भीररुपमा आँकलन गर्न सकेको भए अवस्था फरक हुन्थ्यो । प्रहरी नै अतासिएको, आत्तिएको, दबाबमा आएको अवस्था भनेको व्यवसायिक कार्यदक्षता हुन नसकेको होइन र ?

३) अनुसन्धान, अनुसन्धान र अनुसन्धानः

निर्मला प्रकरणमा गृह र प्रहरी संयन्त्रबीच तालमेल नहुँदा अहिलेसम्म आइपुग्दा आन्दोलन पुरानै लिडमा पुगेको छ । जसरी दिलिप विष्टलाई सार्वजनिक गरियो त्यही बिन्दुमा अहिले दुई युवाको कुरा सार्वजनिक भएको छ । यो बीचमा कैयन अनुसन्धान भए । कैयन टोली गठन भए । कुनै विशेष अनुसन्धानका, कुनै जिल्लाका, कुनै गृहका, कुनै कसका कुनै कसका ।

घटना एउटा हो, घटनाको मुचुल्का एउटा छ । घटनाको प्रकृति एउटा छ । अनि अनुसन्धान टोली भने बाह्य दबाबसँगै थपघट भएका छन् । कुन अनुसन्धान टोलीको कार्यक्षेत्र के हो र त्यसको सम्बन्ध अर्को अनुसन्धान टोलीसँग के छ भन्ने कुरा कतै खुलेको छैन ।

गम्भीर प्रकृतिका घटनामा एउटा विशेष अनुसन्धान टोली गठन गरेर सो को मातहतमा अवस्था हेरेर उप टोलीहरु गठन हुनुपर्ने हो । यसरी अनुसन्धान गरिएको भए हत्यारा पत्ता लाग्थे या लाग्दैनथे, तर सरकार र प्रहरी संगठनमाथि यतिविधि आलोचना र अविश्वास चुलिने थिएन ।

यहाँनेर प्रहरी नेतृत्वले राजनीतिक नेतृत्वसँग समन्वय गर्न सकेको भए, निरन्तर छलफलपछि अनुसन्धानको प्रक्रियालाई व्यवस्थि तगर्न सकेको भए । तर, यो भएन । गृह मन्त्रालय पनि दबाबमा, प्रहरी संयन्त्र पनि दबाबमा । कसले को कसँग कसरी समन्वय गरेको छ भन्ने नै स्पष्ट नहुने । अनुसन्धान टोली जति पनि हुने तर परिणाम कतैबाट नआउने र घुमिफिरी पुरानै लिडमा पुग्ने अवस्थामा जनतामा प्रहरीप्रति वितृष्णा र राज्यप्रति आक्रोश पोखिनु स्वभाविकै थियो ।

४) अत्तालिएको मानसिकता, सस्तो प्रचारबाजी

अघिल्लो साता मिडियामा एकाएक समाचार ओइरिए– निर्मला हत्याकाण्डमा संलग्न भएको आरोपमा कञ्चनपुरका एकजना युवा पक्राऊ ।

यो समाचारपछि थप फलोअप समाचार प्रकाशित भए । कसैले काठमाडौंबाट पक्राउ भने, कसैले कञ्चनपुरबाट पक्राऊ गरेर ल्याइएको भने । कसैले तीनजना पक्राउ परेको र दुईलाई छोडिएको भने । कसैले के लेखे कसैले के लेखे । ्

अचम्म त के छ भने अधिकांश समाचारमा जिल्ला प्रहरी या केन्द्रीय प्रहरीका अधिकृतहरुको भनाई उद्दृत गरियो । कसैले के भने कसैले के भने ।

जे भएपनि जसको श्रोतबाट भएपनि आमरुपमा एउटा सन्देश गयो– निर्मला हत्यामा प्रगति भइरहेको छ । तर, भोलीपल्ट फेरी अर्को सूचना चुहाइयो– पक्राउ परेका युवकसँग आइजिपी खनाल आफैले बयान लिए ।

यो सस्तो लोकप्रियता कमाउन गरिएको मिडियाबाजीका रुपमा धेरैले लिए ।

सामान्य अनुसन्धानको सिद्दान्तले पनि केही खास अवस्था बाहेक अनुसन्धान चलिरहेको बेलाका कुरा सार्वजनिक गर्न मिल्दैन ? कसलाई पक्राउ गरियो, कताबाट गरियो, कसले बयान लियो, बयानमा के कुरा भयो ? यी कुराहरु सार्वजनिक गरिँदैन । किनभने यसले प्रमाण लुकाउने, बंग्याउने या जसका विरुद्ध अनुसन्धान गरिएको हो, ती तत्वले खेल्ने मौका पाउँछन भन्ने गरिन्छ ।

तर निर्मला पन्तको हत्या घटनामा यति चोट खाएको प्रहरीले फेरी दिलिप विष्ट सार्वजनिक गर्ने बेलाको जस्तो हतारो गर्यो । फेरी अपरिपक्व काम गर्यो ।
अचम्म त के भयो भने बयानमा युवाहरुले के भने भन्ने कुरा समेत सार्वजनिक गरियो ।
के अहिले बयान लिइएका दुईजनाले बयानमा भनेको कुराको घटनाका अन्य पक्षसँग तालमेल मिलेपछि, उनीहरु हत्यारा नै हुन भन्ने पुष्टि नभएसम्म सार्वजनिक नगर्ने धैर्यता प्रहरीले राख्न सक्दैनथ्यो ?

अहिले पक्राउ गरिएका युवाहरु कुखुरा चोरीको आरोपमा अघिल्लै दिन पक्राउ परेको र एकजना त्यही दिन साँझ ४ बजे पक्राउ परेको भन्दै उनीहरु हत्यारा नभएको तर्क दिइएको छ ।

व्यवसायिक दक्षता भएको प्रहरीले यो पक्षलाई सूचना चुहाउनु अघि नै आँकलन गर्नु पर्दैन ?
अनुसन्धानका क्रममा सबै कुरा पर्याप्त प्रमाणसहित थाहा नहुँदासम्म र हरेक कडी एक अर्कासँग नजोडिँदासम्म यसरी सार्वजनिक गर्नुको हतारो किन गर्नुपर्यो
?

डिएनए रिपोर्ट नआउँदै उनीहरुको बयानलाई किन सार्वजनिक गरियो ।

सस्तो प्रचार र मिडियाबाजी किन खोज्यो नेपाल प्रहरीले ?

र अन्तमा,

विगत हेर्दा नेपाल प्रहरीको अनुसन्धान क्षमतामा प्रश्न उठाउने ठाउँ छैन । नेपाल प्रहरीले कैयन जटिल अनुसन्धान पनि कुशलतापूर्वक गरेको छ । तर नेपाल प्रहरी बाह्य दबाबमा आउने कुरा पनि नयाँ होइन । अहिले प्रहरी संगठन व्यवसायिक शैली भन्दा पनि रियाक्टिभ या प्रतिक्रिया दिने शैलीमा देखिएको छ । बाहिरको वातावरणबाट जे दबाब आउँछ, त्यसलाई क्रस गर्नैपर्ने मानसिकतामा देखिएको छ । बुझ्नुपर्ने कुरा के हो भने जस्तो दबाब आएपनि निर्णायक परिणाम दिएपछि सबै दबाब आफै क्रस हुन्छन् । तर त्यो देखिएन ।

निर्मला हत्याकाण्डमा एकपछि अर्को गल्ती गरिएका कारण नेपाल प्रहरी र सरकारमाथि यतिविधि आलोचना चुलिएको छ ।

नेपाल प्रहरी र गृह मन्त्रालयले यो घटनाबाट ठूलो पाठ सिक्नु जरुरी छ । राजनीतिक र सुरक्षाका निर्णयहरु ह्तारमा, भीडलाई प्रत्युत्तर दिन होइन, आपसी समन्वयबाट गम्भीररुपमा छलफल पछि मात्रै गरिनुपर्छ भन्ने यसले सिकाएको छ ।

आइजीपि खनाल प्रहरी नेतृत्वमा भएको कारणले र यो घटना राष्ट्रिय चासोको विषय भएकोले यो सबै प्रकरणमा प्रहरीबाट भएका गल्तीहरुको गम्भीर समीक्षा उनले गर्नुपर्छ । मिडियाबाजी र प्रचारको मानसिकता के कसरी विकास भयो भन्ने कुराको अनुसन्धान गरी कार्यशैली सच्च्याउनु जरुरी छ ।

हैन भने दिलिप विष्टको बेला जस्तो प्रहरीले पर्याप्त सबूत र कडी नमिलाउँदै यसरी काँचो सूचना सार्वजनिक गर्दै जाने हो भने भोली वास्तविक हत्यारा पक्राउ परेपनि त्यसमा विश्वास नगर्ने वातावरण नबन्ला भन्न सकिन्न ।

कमेन्ट गर्नुहोस्