को बन्ला दोस्रो नेपाल आइडल, कसको सम्भावना कति ?

लोकेश धामी, काठमाडौं । नेपाल आइडल सिजन २ को ‘अन्तिम चार’ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेसँगै अब उपाधि कसले जित्ला भन्ने विषयले चर्चा पाएको छ ।
उपाधि भिडन्त आउन धेरै दिन नरहेकाले यो हप्तालाई प्रतिस्पर्धीले विशेष बनाउने छन् । विशेष भन्नुको अर्थ सक्दो उत्कृष्ट प्रस्तुति दिने प्रयास गर्ने छन् ।

आइडलमा बाँकी रहेका चार प्रतिस्पर्धीका समर्थक आफूले रुचाएको व्यक्तिलाई विजयी गराउन अहोरात्र खटिरहेका छन् । सामाजिक सञ्जालदेखि ठाउँठाउँमा भोट बटुल्ने विशेष कार्यक्रमको आयोजना गरिएका छन् ।

चारै प्रतिस्पर्धी केही दिनअघि भोटको अपिल गर्न गृहजिल्ला पनि गएका थिए । र, उनीहरु त्यहाँबाट फर्किसकेका छन् । प्रतिस्पर्धीले गृह जिल्ला रहँदा समर्थकको व्यापक माया र हौसला पाए ।

दोस्रो नेपाल आइडल को बन्ला, कसको सम्भावना कति ?

रवि ओडः

रवि आइडलको उपाधि जित्ने मध्येका प्रमुख दाबेदार हुन् । उनले अहिलेसम्म राम्रो भोट पाउँदै ‘टप ४’ मा स्थान सुरक्षित गर्न पनि सफल भएका छन् । साथै, रवि हालसम्मको अंकमा ‘डेन्जर जोन’ मा पनि परेका छैनन् । यसले गर्दा पनि रविले उपाधि जित्नसक्ने सम्भावना बलियो छ ।

उनले उपाधि जित्ने अरु कारण मध्ये सुदूरपश्चिम प्रदेशबाट आइडलमा सहभागि एक मात्र प्रतिस्पर्धी हुन् । यसबाहेक उनले उपाधि जित्न सक्ने थुप्रै कारण छन् । उपाधि भिडन्त नजिकिएसँगै रविका समर्थक पनि त्यहीअनुसार बढिरहेका छन् ।

साथै, उनी दलित समुदायबाट आइडलमा बाँकी रहेका प्रतिस्पर्धी भएकाले रविलाई सबैको साथ छ । नेपालमा मात्र नभई उनका विदेशमा पनि हजारौं समर्थक छन् । यसकारण पनि रवि दोस्रो नेपाल आइडल बन्न सक्छन् ।

बिक्रम बरालः

बिक्रम पनि आइडलको मुख्य दाबेदार हुन् । धेरैको अनुमान छ यो पटकको उपाधि जित्ने बिक्रमले नै हो । तर, भोटिङ प्रणालि भएकाले उनले नै उपाधि जित्न सक्छन् भनेर ठोकुवा गर्न गाह्रो छ ।

पोखरा अडिसनबाट आइडलमा भाग लिएका बिक्रमले अहिलेसम्म दमदार प्रस्तुति दिदैं स्रोतादर्शकको मन जित्न सफल भएका छन् । उनी आइडलमा ‘गोल्डेन माइक’ विजेता प्रतिस्पर्धी पनि हुन् ।

गज्जब विषय त केछ भने गत संस्करणको आइडल विजेता बुद्ध लामा र बिक्रमका संगीत प्रशिक्षक अर्थात् गुरु एउटै हुन् । यसकारण पनि धेरैले यो पटक पनि पोखराले नै उपाधि जित्न सक्ने आँकलन गरेका छन् ।

तर, बिक्रम यसअघिका धेरै अंकमा ‘डेन्जर जोन’ मा पर्दै आएकाले उनले उपाधि जित्नसक्ने ठोकुवा गर्न भने कठिन छ । अब हेरौं उनको आइडल बन्ने धोको पूरा हुन्छ या हुँदैन ।

समित पाठकः
सुमित आइडलको उपाधि जित्नसक्ने मध्येका अर्का प्रतिस्पर्धी हुन् । उनी शुरुवातदेखि नै आइडलको दाबेदारका रुपमा प्रस्तुत हुँदै आएका छन् । ‘गोल्डेन माइक’ विजेतासमेत रहेका उनी ‘टप ४’ मा प्रवेश गर्दा पनि सर्वाधिक भोट पाउन सफल भएका थिए ।

यसले के जनाउँछ भने सुमित आइडल जित्न सक्छन् । उपाधि भिडन्त नजिकिएसँगै भोट संख्या अत्यधिक बटुल्न सके उनले नै यो वर्षको आइडलको उपाधि नलैजालान् भन्न सकिन्न । तर, झापाबाट दुई प्रतिस्पर्धी भएकाले अलि कठिन पनि छ ।

सुमितको गृहजिल्ला झापा हो र यही जिल्लाबाट अर्की प्रतिस्पर्धी अस्मिता अधिकारी पनि छन् । हुन त जिल्ला विशेष मात्र हेर्नु जतिको मूर्खता केही होइन । तर, पनि यस्ता भोटिङ प्रणालीमा आफ्नोपन झल्किहाल्छ र आफ्नैबाट बढी भोट आउँछ भन्ने आशा बढी हुन्छ ।

खैर, सुमितले नेपाल मात्र नभई विदेशमा बस्नेको मन पनि जितेका छन् । यसकारण उनले आइडलको उपाधि जित्न सक्छन् । सुमित पनि यसअघिका केही अंकमा कम भोट पाएका आधारमा ‘डेन्जर जोन’ मा परेका थिए ।

अस्मिता अधिकारीः
अस्मिता दोस्रो नेपाल आइडल बन्न सक्ने प्रबल दाबेदार हुन् । उनका हरेक प्रस्तुतिले दर्शकस्रोता आकर्षित भएका छन् । आइडलमा एक मात्र महिला प्रतिस्पर्धी भएकाले यो पटक कतै उनैले पो उपाधि जित्दीनन् भन्ने धेरैको आँकलन छ । अस्मिताको गृह जिल्ला झापा हो ।

त्यहाँबाट सुमित पनि उपाधिका लागि भिडिरहेका छन् । यसले गर्दा अस्मितालाई केही असर पर्ने देखिए पनि उनले हजारौं समर्थक देश तथा विदेशमा कमाइसकेकी छन् ।

अस्मितामा सबै किसिमका गीत गाउन सक्ने क्षमता छ । त्यो क्षमतलाई आउने बिहीबार झन प्रस्फोटन गर्न सके उनले यो पटकको आइडल बन्न सक्ने सम्भावना धेरै छ ।

कमेन्ट गर्नुहोस्