वर्तमान सरकारको विकल्प छैनः अध्यक्ष प्रचण्ड

पोखरा, मंसिर २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले वर्तमान सरकारको विकल्प नरहेको बताएका छन् ।

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेपाली जनताले आशा एवं भरोसा गरे अनुरुप नै सरकार अघि बढेको बताए ।

पार्टीले निर्वाचनका समयमा गरेका प्रतिबद्धता अनुरुप नै सरकारले आगामी बजेट निर्माण गर्ने उनले जानकारी गराए । सामाजिक सुरक्षा, विकास निर्माण लगायतमा व्यक्त चासोलाई सम्बोधन गर्ने गरी अघि बढिने उनले उल्लेख गरे ।

मुलुकमा स्थायी सरकार भएकै कारण दुवै छिमेकी राष्ट्रबीच सुसम्बन्ध कायम भएको उल्लेख गर्दै उनले आपसी सम्बन्ध अझैं प्रगाढ बन्दै गएको बताए ।

दुई पार्टीबीचको एकिकरण प्रक्रिया तल्लो तहसम्म नै बढी रहेको जानकारी दिँदै पुर्वप्रधानमन्त्री प्रचण्डले यही २९ गते बस्ने स्थायी कमिटी बैठकबाट जिल्ला एवं भातृ सङ्गठनको नेतृत्व चयन गरिने बताए ।

सिक्लेसबाटै शान्ति प्रकृयाको शुरुआत भएको स्मरण गर्दै उनले पोखराबाट सिक्लेस जोड्ने बाटोलाई पक्की बनाउन पहल गरिने प्रतिबद्धता जनाए ।

कमेन्ट गर्नुहोस्