प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं, मंसिर २५ । प्रधानमन्त्री केपी शर्मा ओली फलोअपका लागि अस्पताल पुगेका छन्। ओली मंगलबार दिउँसो ३ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरमा पुगेका हुन्।

सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको मुटुको अवस्था जाँच गर्ने क्रममा इसिजी र इको गरिएको छ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको डा. श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री ओली कात्तिक दोस्रो साता उपचारका लागि सेन्टरमा पाँच दिन बसेका थिए।

चिकित्सकको सल्लाह अनुसार ओली मंगलबार फलोअपका लागि सेन्टर पुगेका हुन्। ओलीलाई अर्को फलोअपका लागि तीन महिनापछि आउन चिकित्सकले सुझाव दिएका छन्।

यसअघि कात्तिक १२ गते सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओली १६ गते डिस्चार्ज भएका थिए। अन्नपूर्ण पोस्टबाट

कमेन्ट गर्नुहोस्