वाइडबडी अनियमितताको छानबिन गर्न संसदीय उपसमिति

काठमाडौँ, मङ्सिर २६ । संसदीय सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिद प्रकरणको अनियमिता छानविनमा सक्रियता बढाएको छ ।

वाइडबडी खरिदमा भएको अनियमिता छानविनका लागि लेखा समितिले ७ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको बुधबारको बैठकले नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो ।

उपसमितिमा सांसदहरु कृष्णलाल महर्जन, चन्दा चौधरी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा छन् । लेखा समितिले त्यससम्बन्धी प्रतिवेदन तयार पार्न उपसमितिलाई १५ दिनको म्याद दिएको छ ।

नेपाल वायुसेवा निगमले जेठ र असारमा ठूलो आकारको २ वटा जहाज (वाइडबडी) खरिद गरेको थियो । निगमले जहाज ल्याए लगत्तै खरिद प्रकिया नियम विपरित गरिएको भन्दै विवादित बनेको छ ।

यसअघि वाइडबडी खरिदबारे छानबिन गर्न संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली कांग्रेसका सांसद प्रकाशमन सिंहको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

जहाज खरिद प्रकृयाबारे संसदीय समितिले पर्यटन मन्त्री रवीन्द्र अधिकारी र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसँग समेत सोधपुछ गरिसकेको छ । समितिका सभापति भरतकुमार साहले जहाज खरिद प्रकृयाबारे सम्बन्धित विभिन्न पक्षसँग अनुसन्धान भइरहेको जानकारी गराए ।

कमेन्ट गर्नुहोस्