५३० कर्मचारी कारवाहीमा, के होला भविष्य ?

काठमाडौँ, मङ्सिर २६ । ठीक समयमा कार्यालय नआउने र तोकिएको पोशाक नलगाउने ५३० कर्मचारी कारवाहीको घेरामा परेका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रले साउन यता गरेको अनुगमनका क्रममा १४० कार्यालयका ५३० कर्मचारीलाई कारवाहीको सिफारिस गरेको हो ।

केन्द्रले गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३१८ र तोकिएको पोशाक नलाउने १६२ गरी ५३० जना कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । उनले कारवाहीमा परेका कर्मचारीलाई विभागीय कारवाही गर्नका लागि सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइएको बताए ।

केन्द्रले गत आर्थिक वर्ष ५२ जिल्लाका एक हजार १४० कार्यालय अनुगमन गर्दा करीब दुई हजार ३४० जना कर्मचारीलाई समय पालना नगरेका र पोशाक नलगाएकोमा कारवाहीको लागि सिफारिस गरेको थियो ।

यस्तै केन्द्रमा अझै २३७ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् । मुख्यमन्त्री कार्यालयबाट कात्तिक मसान्तसम्म केन्द्र स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण आउनुपर्नेमा नआएको केन्द्रका प्रवक्ता लामिछानेले जानकारी दिए ।

स्थानीय तहले पहिलो पटक सम्पत्ति विवरण बुझाउँदैछन् । स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण जिल्ला समन्वय समितिमार्फत मुख्यमन्त्रीमा जाने र मुख्यमन्त्रीबाट केन्द्रमा जाने गर्दछ ।

केन्द्रका सम्पत्ति विवरण शाखाका एकराज पोखरेलले सबैभन्दा बढी प्रदेश नं २ का स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएको बताए । उनका अनुदार सम्पत्ति विवरण बुझाउनका लागि केन्द्रले ताकेता गरिरहेको छ ।

रासस

कमेन्ट गर्नुहोस्