भारतमा नेपाली भाषालाई पाठ्यक्रममा राख्न पहल गरिने

काठमाडौँ, मङ्सिर २६ ।

भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, भारत, कोलकाताको आयोजनामा कोलकातामा भएको ‘तृतीय अन्तरराष्ट्रिय साहित्य सम्मेलन’ आगामी सन् २०२० मा चतुर्थ सम्मेलन कोलकातामै गर्ने निर्णय गरी सम्पन्न भएको छ ।

दुईदिने सम्मेलनले नेपाल प्रज्ञा–प्रतिष्ठान, भानु प्रतिष्ठान र अन्तरराष्ट्रिय नेपाली साहित्य समाजसँगको सहकार्यमा नेपाली भाषा र साहित्यको उन्नयनका लागि समर्पित रहने निर्णय गर्नाका साथै तृतीय सम्मेलनका दस्तावेज प्रकाशन गर्ने निर्णय पनि गरेको सम्मेलन आयोजक समितिका संयोजक नारायणप्रसाद होमगाईँले घोषणा गरे ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभएको सम्मेलनका अवसमा कवि वसन्त चौधरीको बङ्गाली भाषामा राजेन्द्र गुरागाईँबाट अनूदित र हनिफ खानबाट सम्पादिन काव्यकृति ‘वसन्त’, राधेश्याम लेकालीद्वारा लिखित तथा श्याम प्रधानबाट हिन्दीमा अनूदित ‘वक्त के घोडे’(समयका घोडाहरु) र टीकारामगोपाल भित्रीकोटीद्वारा लिखित ‘लाज’ कवितासङ्ग्रह विमोचन गरिएको थियो । ‘वसन्त’ काव्यकृति नौ भाषामा अनुवाद गरिएको छ ।

कार्यक्रममा नेपालका प्राज्ञ डा अमर गिरीले ‘समकालीन नेपाली साहित्यको अवस्था, प्रवृत्ति र चुनौती’, डा राम्जी तिमल्सिनाले ‘समकालीन प्रवासी नेपाली साहित्यःसिर्जना र सिद्धान्त’ र नरबहादुर भण्डारी डिग्री कलेजका टेकबहादुर छेत्रीले ‘भारतमा लेखिएको नेपाली साहित्यः सन् १९९२ अघि र पछि’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए जसमाथि क्रमशः श्याम रिमाल, हरिहर शर्मा, ऋषभदेव घिमिरे, सुभद्रा भट्टराई र इन्दुप्रभादेवी, राधेश्याम लेकाली, राजेन्द्र शलभ, छत्रपति फुएल, ठाकुर गुरागाईँ र मनप्रसाद सुब्बा तथा उषाकिरण सत्यदर्शी, रमण घिमिरे, धर्मराज बराल र विकास कार्कीले टिप्पणी गरेका थिए ।

त्यस्तै रामकुमार मुखोपाध्यायको सभापतित्वमा ‘भारतका लोपोन्मुख क्षेत्रीय भाषाहरु’ शीर्षकमा सामूहिक छलफल पनि गरिएको थियो । सो अवसरमा पोखराका संस्कृतिविद् डा तुलसी प्रवासले गल्ला व्यापारीले लाहुरे बनाउन लगेका छोराहरुको विरहमा गाएको गीत आदि समेटेर तयार गरिएको ‘गल्लैलाहुरे’ र ‘नेपालका जातजाति’ विषयका वृत्तचित्र प्रस्तुत गरेका थिए ।

सम्मेलनकै अवसरमा रवीन्द्रभारती विश्वविद्यालयका हिन्दी विभाग प्रमुख डा सुव्रत लहिरीको सभापतित्वमा नेपाली, हिन्दी, बङ्गाली, मैथली, पञ्जाबी, भोजपुरी, असमी र उर्दू भाषामा लेखिएका कविताहरुको वाचन गरी बहुभाषी कविगोष्ठी गरिएको थियो जसमा डा राजेन्द्र भण्डारी, आशिष सन्याल, कुसुम जैन, पदम गुरागाईँ, सञ्जीव गुरुङ, डा जरिना जरिन, एके भराली, आशा उपाध्यायलगायतले कविता पाठ गरेका थिए । त्यस्तै स्थानीय नेपाली विद्यार्थीहरुबाट नेपाली, बङ्गाली, हिन्दी नृत्य पनि प्रस्तुत गरिएको थियो ।

उद्घाटनका अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले आफ्नो साहित्य, संस्कृति र दर्शनको संरक्षणका साथै आफ्नो सामूहिक पहिचान खोज्न नेपाल बाहिर रहेका नेपालीलाई आग्रह गरे । भारतका लागि नेपाली कावा राजदूत रेग्मीले विश्वका करीब २०० देशमा नेपाली भाषा ६१ औँ स्थान रहेको जानकारी दिँदै भारत, पश्चिम बङ्गाल राज्यमा दूतावास र महावाणिज्यदूतावास मिलेर नेपाली भाषा पनि पाठ्यक्रममा राख्न पहल गरिने जानकारी दिए । नेपालका लागि भारतका कावा राजदूत भरतकुमार रेग्मीले आफूद्वारा लिखित ‘द क्लाउड्स’(बादलहरु) कृति पनि सो अवसरमा उपहार दिएक थिए ।

कोलकाताका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले कोलकातामा नेपाली भाषासाहित्यको विकासमा महावाणिज्यदूतावासको सहयोग सदैव रहने बताए । रवीन्द्रभारती विश्वविद्यालयका पूर्वउपकुलपति पवित्र सरकारले नेपाली निकै विकसित भाषा हो भन्दै आफ्नो मौलिक भाषामा लेख्नु भनेको विश्वका समग्र मानवताका लागि लेख्नुसरह हुने बताए ।

जनमैत्री सांस्कृतिक मञ्चका अध्यक्ष राजु पाठकले सन् २०११ मा गठित मञ्चमा कोलकातामा रहेका नेपालीहरुका २६ संस्था संलग्न रहेको बताउँदै आफ्ना सन्ततिहरुले नेपाली भाषामा हिन्दी र बङ्गाली भाषा मिसाएर बोलेकाले तिनलाई शुद्ध नेपाली भाषा सिकाउनुपर्ने स्थिति रहेको स्पष्ट पारे ।

मञ्चका सचिव रामायण धमलाले यसअघि सन् २०१३ र २०१५मा प्रथम र द्वितीय अन्तरराष्ट्रिय सम्मेलन भएको र हालको सम्मेलनमा नेपाल, भुटान, म्यान्मा तथा भारतका खर्साङ, कालेबुङ, आसाम, गुहावटी, देहरादून, बनारस र नयाँ दिल्लीबाट साहित्यकार तथा प्राज्ञहरुको सहभागिता रहेको जानकारी दिए ।
वसन्त काव्यसङ्ग्रहमाथि टिप्पणी गर्दै डा सुप्रकाश सरकारले मौलिक बङ्गाली भाषामा नै लेखिएझैँ बाल्यकाल, आफ्ना पिता, देशभक्ति आदि विषयमा लेखिएका ६० कविता रहेको बताए ।
श्याम रिमाल राससका लागि

कमेन्ट गर्नुहोस्