एक्सनमा गएपछि हामीले गरेको काम जनताले देख्छन्: मन्त्री अर्याल

धनुषा, २६ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पाँच वर्षभित्र सुकुम्बासी समस्या निर्मुल पार्ने बताएकी छन् ।

बुधबार जनकपुरमा कार्यकर्ता भेटघाट गर्दै मन्त्री अर्यालले भनिन्, ‘हामीले अव्यवस्थित बसोबासीहरुका समस्या सम्बोधनलाई उच्च प्राथमिकता राखेका छौं । पाँच वर्षभित्र सुकुम्बासी समस्या निर्मूल गर्छौं । गुठी संस्थानलाई प्राधिकरण बनाउँछौं ।’ उनले शक्तिशाली भूमि आयोग बनाउन लागेको जानकारी दिँदै त्यो प्रतिवदेन नभई एक्सनमुखी हुने बताइन् ।

मन्त्री अर्याले आफू गुठीको जग्गाको समस्या सम्बन्धी जानकारी लिन आएको बताउँदै त्यस अवसरमा विवाह पञ्चमीमा पनि सहभागी हुने जानकारी दिइन् ।

फरक प्रसंगमा मन्त्री अर्यालले पार्टी एकता ढिलो भएपनि निराश हुने परिस्थिति नभएको उल्लेख गरिन् । ‘केही समयभित्र टुङ्गोमा पुग्छ,’ उनले भनिन्, ‘जिल्ला तहसम्मको एकता टुङ्गिएपछि हामी अभियानमा जान्छौं । तपाईहरु जनताको बीचमा जानुस् ।’

उनले पार्टी एकताको भाव तलसम्म सम्प्रेषण गर्न जरुरी ठान्दै दुवैतिरका नेताहरुलाई सँगै अघि बढेर काम गर्न सुझाइन् । जसकारण वैचारिक र भावनात्मक एकता कायम हुने उनको धारणा व्यक्त गरिन् ।

‘सरकार जनताकै हितमा समर्पित छ । हामी सङ्घीयतामा त गयौं। तर, कानून निर्माण बाँकी नै छ,’ उनले भनिन्, ‘प्रदेशको संरचना बिल्कूल नयाँ हो । यसको व्यवस्थापन गर्न केही समय लाग्छ । धेरै नीतिगत काम भएका छन्, त्यतातिर पनि हेरौं ।’ उनले कानूनको काम सकिएपछि आफूहरु अभियानात्मक रुपमा एक्सनमा जाने घोषणासमेत गरिन् । उनले एक्सनमा गएपछि जनताले काम देख्ने विश्वास व्यक्त गरिन् ।

कमेन्ट गर्नुहोस्