भत्ता माग गर्दै संसद सचिवालयका कर्मचारी आन्दोलनमा

काठमाडौँ — संघीय संसदका कर्मचारीले कार्यालय समय भन्दा बढी काम गरेको सुविधा माग गर्दै आन्दोलन सुरु गरेका छन् । १२ औ संसद सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रम मनाइरहेको बेला कर्मचारी युनियनले कार्यालय समय भन्दा थप समय काम गरे सुविधा दिनुपर्ने माग राखेका हुन् ।

कर्मचारीको विरोधले बुधबार हुने म्यूजिकल चेयर, टाइ बनाउने प्रतियोगिता, गायन प्रतियोगिता रोकिएको छ।

सचिवालयले शुक्रबार संसद सेवा दिवस मनाउने तयारी गरेको छ। ‘अरु कार्यक्रममा पनि भाग लिदैनौँ,’सचिवालय कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले भने।

संसदका कर्मचारीले यसअघि ८० प्रतिशत भत्ता लिने गरेका थिए। सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गनिदर्शन ल्याएर भत्ता कटौती गरेको थियो। ‘विशिष्ट सेवा भएकोले सुविधा पनि विशिष्ट हुनुपर्छ भन्ने हाम्रो माग हो,’अर्यालले भने,‘बढी समय काम लगाइन्छ भने सेवा सुविधा दिनु पर्‍यो।

हामीले कार्यालय समयमा काम गरेको छुट्टै पैसा हुनुपर्छ भनेको होइन। ओभरटाइम गराएपछि श्रमको मुल्यांकन हुनु पर्‍यो।’

सुविधा उपलब्ध नभए संसद सेवा दिवस समेत अवज्ञा गर्ने उनले बताए। बिहान संसदीय समितिको बैठक हुँदा सांसदले खाना खर्च बापत भत्ता पाउँछन् भने कर्मचारीले पाउँदैनन्।

सभामुख कृष्णबहादुर महराको सभापतित्वमा केही दिन अघि बसेको संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले ५० प्रतिशत भत्ता दिन अर्थ मन्त्रालयलाई पत्राचार गर्ने समेत निर्णय गरेको छ।

संसद सचिवालयले क्यालेन्डर अनुसार काम गरेमा कर्मचारीलाई छुट्टै भत्ता दिनु नपर्ने विज्ञहरुले सुझाव दिएका छन्। सातामा तीन दिन सदन र तीन दिन समितिको बैठक राख्ने गरी क्यालेन्डर बनाउने हो भने भत्ता बिनै काम गर्न सकिने विज्ञहरु बताउँछन्।
-कान्तिपुरडेली डटकमबाट

कमेन्ट गर्नुहोस्