जब भूमि सुधार मन्त्री बिहानै मालपोत पुगिन्, यस्तो थियो अवस्था

जनकपुर, मंसिर २७ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बिहीबार बिहानै अनुगमन गरेकी छन् ।

बुधबार विवाह पञ्चमीका लागि जनकपुर आएकी मन्त्री अर्यालले मालपोत कार्यालयको अनुगमन गरेकी हुन् । अनुगमनमा मन्त्री अर्यालले मालपोतका ढड्डाहरुको अवस्था, सेवा प्रवाहको स्थिति, मालपोतका कागजात प्रादेशिक कार्यालयमा हस्तान्तरणको गृहकार्य लगायतका विषयमा जानकारी लिएकी हुन् ।

अनुगमनपछि मन्त्री अर्यालले आधुनिक प्रविधिमा रुपान्तरण गरेर भूमि सम्बन्धी कागजात तल्लो तहमा हस्तान्तरण गरिने बताइन् ।

मन्त्री अर्यालले भनिन्, ‘अहिले मालपोतका कागजात व्यवस्थित छैनन् । हामी सबै फाइललाई स्क्यान गरेर सफ्टवेयरमा हाल्छौं । त्यसपछि बल्ल भूमि सम्बन्धी अधिकार र फाइल तल्लो तहमा हस्तान्तरण गर्छौ ।’

अनुगमनमा धनुषा मालपोतका प्रमुख रामबाबु मण्डलले कर्मचारीको अभावमा अपेक्षित कार्य सम्पादन गर्न नसकिएको बताए । धनुषाको एक मात्र सेवा प्रवाह गर्ने कार्यालय साँधुरो भएको सेवाग्राहीले गुनासो गरे ।

कमेन्ट गर्नुहोस्