ब्रिटिससँग लड्न प्रयोग गरिएका अमरगढी किल्लाका हतियार चोरी

डडेल्धुरा, मंसिर २७ । सुदूरपश्चिम प्रदेशको ऐतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ ।

शहीद भीमदत्त पन्तको जन्मथलो भएका कारण र त्यसपछि पनि विविध गतिविधिले नेपाली राजनीतिको आएको हो । किल्लाको प्रवेशद्धारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ लेखिएको छ । ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ ।’

त्यही किल्लाका ऐतिहासिक हतियार भने कहाँ छन् भन्ने अहिलेसम्म कसैलाई पत्तो छैन । नेपाल एकीकरणका बेला ब्रिटिस साम्राज्यसँग लड्न वीरहरुले प्रयोग गरेको दर्जनौँ हतियार र पाँच वटा तोप गायब भएको वर्षौँ बित्दा पनि अझै भेटिएका छैनन् ।

नेपाल एकीकरण र ब्रिटिससँगको युद्धमा प्रमुख प्रशासनिक कार्यालय रहेको उक्त किल्लाबाट पुरातात्विक महत्वका हतियार हराएको तीन दशक बितिसक्दा पनि सरकारी निकायले खोज्न चासो दिएको छैन ।

सेनाको प्रयोग र संरक्षणमा रहेको उक्त किल्ला सात वर्षयता नगरपालिकाले स्वामित्व लिए पनि हतियारको खोजबिन गरेको छैन । स्थानीयवासीका अनुसार पाँच तोप, ५० जति बन्दुक, एक दर्जन भीमसेन नाल बन्दुक र केही घरेलु हतियार किल्लामा थिए ।

बडाकाजी अमरसिंह थापाले विसं १८४७ मा स्थापना गरेको सो किल्लामा नेपाल एकीकरणको समयमा प्रयोग गरिएका ऐतिहासिक तथा पुराना हातहतियार बेपत्ता हुनुमा सम्बन्धित निकायको उदासिनता रहेको र त्यसैकारण किल्लाको महत्व समेत घटेको स्थानीयवासीको अरोप छ । नेपालका जीवित किल्लामध्येको पहिलो किल्ला अमरगढी किल्ला रहेको विज्ञहरू बताउँछन् ।

याे पनि पढ्नुस  ट्रकको ठक्करबाट घर भत्कियो, दुई जना घाइते

उक्त किल्ला र सिन्धुलीगढी किल्ला मात्रै हालसम्म जीवन्त किल्लाको रूपमा रहेको पुरातत्व विभागको जिकिर छ । डडेलधुराको सदरमुकाममा रहेको एतिहासिक किल्लाभित्र तत्कालीन डोटेली फौजले अङ्ग्रेजसँग लड्दा प्रयोग गरेका तोप, बन्दुक, घरेलु भालागायत ऐतिहासिक हतियार र सैनिक पोशाक अहिले नहुँदा किल्लाको महत्वसमेत घटेको स्थानीयवासी बताउँछन् ।

नेपाल एकीकरणका बेला बडाकाजी थापाले डोटेली राज्यको डडेल्धुरालाई आधारक्षेत्र बनाई कुमाउ गडवालसम्म युद्ध लड्नका लागि यसै अमरगढी किल्लालाई मुख्य आधार मानिएको थियो ।

युद्धमा प्रयोग भएका बन्दुक तथा घरेलु हातहतियारलगायत रहेका कारण त्यसबेलादेखि प्रत्येक वर्ष दशैँको फूलपातीका दिनमा किल्लामा रहेका सैनिक तोप लगेर टुँडिखेलमा पट्काउने गर्दै आएको स्थानीयवासी ८२ वर्षीय करी दमाइको अनुभव छ ।

उहाँका अनुसार त्यसबेला किल्लामा खड्गदल गण नामको तत्कालीन शाही सेना बस्ने गरेको र पछि उनीहरूले किल्लाभित्र रहेका हतियार सरुवा भएर जाँदासँगै लिएर गएको हुनसक्छ ।

त्यसपछि यस किल्लामा कुनै सैनिक टुकडीले ती हतियार ल्याएनन् । त्यसबेला किल्लामा आफैं पड्किने भीमसेन नाल बन्दुक रहेको र त्यसलाई प्रत्येक वर्ष दसैंको बेलामा कपडाको खोलले ढाक्ने गरिएको थियो ।

किल्लामा त्यसबेला पाँच वटा तोप, दर्जनौँ घरेलु हतियार, १०० जति बन्दुक, किल्लाभित्रै बम, गोला, बारुद बनाउने छुट्टै घर र अन्य युद्ध सामग्री पनिरहेको किल्ला छेउ बस्ने किरण श्रेष्ठ बताउनुहुन्छ । अहिले किल्ला हेर्न आउने पर्यटयकले ती कुनै पनि हतियार देख्न पाउँदैनन् ।

याे पनि पढ्नुस  डडेल्धुरामा शेर बहादुर देउवा कि खगराज भट्ट ? यस्ताे छ एजेण्डा र अकगणित

विसं २०५४ मा अमरगढी किल्लाको नामबाट स्थापना भएको अमरगढी नागरपालिकाले २०५६ सालमा अमरगढी किल्लाकै नामबाट नामाकरण भएको अमरगढी नगरपालिका स्थापनापछि २०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो मतहतमा लिएको थियो ।

विसं २०५८मा तत्कालीन माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन उक्त किल्ला पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि किल्लामा पर्यटकले प्रवेश गर्नुभन्दा पनि त्यस क्षेत्रमा हिँडडुलमा समेत प्रतिबन्ध लगाइएको थियो ।

विसं२०५८ देखि २०६६ सम्म किल्ला सेनाको मतहतमै थियो । स्थानीयवासीको पटक–पटकको प्रयासपछि विसं २०६६ पुसदेखि पुनः किल्लालाई रेखदेख गर्ने र सञ्चालन गर्ने जिम्मा अमरगढी नगरपालिकाले पाएको हो । पर्यटकलाई प्रवेश खुला गराए पनि फोटो खिच्न भने विसं २०६९ देखि स्वीकृति दिइएको हो ।

एतिहासिक पृष्ठभूमि

समुन्द्र सतहबाट करिव छ हजार ५०० फिट उचाइमा डडेल्धुरा जिल्ला सदरमुकामको टाकुरामा अमरगढी किल्ला छ । नेपाल एकीकरणको सिलसिलामा विसं १८४७ भदौ १३ गते आइतबारका दिन सेती नदीको नारीदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा आएका दश कम्पनीका गोरखाली सैनिक जवान र डोटेली सैनिकको युद्ध भएको थियो ।

याे पनि पढ्नुस  चट्याङ लागेर १३ जना घाइते, दुईको अवस्था गम्भीर

सो युद्धमा गोरखाली फौजसामु डोटेली फौज पराजित भइसकेपछि डोटी राज्य पनि नेपालमा गाभिन पुग्यो र तत्कालीन नेपाल सरकारले अमरसिंह थापालाई यस क्षेत्रको प्रथम प्रशासकको रुपमा नियुक्त गऱ्यो । थापाले यस क्षेत्रको प्रशासन संचालन गर्न एवं महाकाली पारी विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गर्न लगाएका हुन् ।

किल्ला निर्माण भइसकेपछि सरदार अमरसिंह थापा, काजी जगजीत पाण्डे, कप्तान गोलैया, रणवीर खत्री सुब्बा आदिको सैनिक नेतृत्वले यस किल्लालाई आधारकिल्ला कायम गरी बसेका थिए । काली-कुमाउँ अभियानमा यसै किल्लालाई नेपाली फौजले आधार बनाएर पिथौरागढ, गंगोलीहाट हुँदै अल्मोडा विजय गरेको थियो ।

कुमाउँ विजयपछि अमरगढी किल्लाको मातहतमा रहने गरी एउटा किल्ला (छाउनी) कुमाउँ क्षेत्रमा राखिएको ऐतिहासिक दस्तावेजहरूमा पाइन्छ । अमरसिंह थापाद्वारा निर्माण गरिएको विशाल ढुङगेकिल्लाको निर्माण कलात्मक रहेको र चारैतिर ढुङ्गाले बनाइएको उक्त किल्लाभित्र सुरुङहरू बनाइएका छन् । शत्रुलाई छल्ने अनेक सामरिक प्रयोगका लागि गोप्य मार्गहरू समत किल्ला भित्र रहेका छन् । किल्ला वरिपरी ठुल्ठूला रुखहरू रहेका छन् भने किल्लाको मध्य भागमा उग्रभैरवको मन्दिर प्रतिस्थापन भएबाट यो किल्ला धार्मिक र सामरिक महत्वको रहेको प्रष्ट हुन्छ । रासस

 

कमेन्ट गर्नुहोस्