सोलारको ब्याट्री पड्किएर आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

दाङ — बंगलाचुली गाउँपालिका–८ गुराँशेमा बिहीबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । नवराज पुनको घरमा आगलागी हुँदा उनका ७ वर्षीय छोरा कृष्णबहादुर पुन, ५ वर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको मृत्यु भएको छ ।

एक वर्ष चार महिनाको छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमै सुताएर श्रीमती जीवना पुन र नवराज झारफुक गराउन गाउँमा गएको बेला सोलारको ब्याट्री पड्किएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताएका छन् । आगोले जलेर ७ वटा बाख्रा ४ वटा गाईसमेत मरेको उनले जानकारी दिए ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका–५ बिरेन्द्रचौकस्थित एक जुता पसलमा शुक्रबार बिहान आगलागी भएको छ । बिहान ६ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । भीमप्रसाद घिमिरेको घरमा रहेको जुताको होलसेल पसलमा बिहान एक्कासी आगोको मुस्लो निस्किएको थियो ।

मानिसहरु बाहिर निस्कन सफल भएकाले मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

विद्युत सर्ट भएर आगलागि भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाका साथै घोराही उमहानगरपालिका र लमही नगरपालिकाको दमकल समेत पठाइएको छ । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी खटिएका छन् । तीन तलाको घरभित्र रहेका सम्पूर्ण समाना जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्